देश

प्रहरी द्वारा ज्ञानेन्द्र शाही पक्राउ

काठमाडौं, भदौ २९-आफूलाई भ्रष्टाचारविरोधी नागरिक अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीलाई प्रहरीले पुल्चोकबाट पक्राउ गरेको छ। नेपालगञ्ज विमानस्थलमा एक घण्टा जहाज रोकाएको भन्दै पर्यटनमन्त्री योगेश भट्टराईसँग विरोध जनाएका ज्ञानेन्द्र शाही पक्राउ परेका छन्।

उनलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पुल्चोकबाट पक्राउ गरेको हो। उनले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पत्रकार सम्मेलनमा पुगेका केही व्यक्तिलाई उनलाई प्रश्न गर्न खोजेका थिए। शाहीको समूहले उनीहरुलाई रोकेको थियो।

रोेक्ने क्रममा धकेलाधकेल हुँदै हात हालाहालको अवस्था आएको हो। तर, प्रहरीले हुलहुज्त गर्नेलाई केही नगरी शाहीलाई पक्राउ गरेको उनका सहयोगीले बताएका छन्।

उनले त्यही विषयमा पत्रकार सम्मेलन गरेर जानकारी दिन खोजेका थिए। प्रहरीले भने उनको सुरक्षाका लागि नियन्त्रणमा लिएको जनाएको छ। उनलाई अहिले महानगरीय प्रहरी परिसर ललितपुरमा राखिएको छ।

Featured