विदेश

साउदीका तेल प्रशोधन केन्द्रमा आक्रमण

रियाद, एजेन्सी, भदौ २९शनिबार बिहान सबेरै साउदी अरबका दुई मुख्य तेल प्रशोधनस्थलमा ड्रोन आक्रमण भएको थियो। विश्वको चर्चित कम्पनी आरामकोका तेल प्रशोधनस्थलनमा आक्रमण भएको हो।

साउदी अरबको राजधानी रियादबाट करिब ३ सय ३० किलोमिटर उत्तरपूर्वमा पर्ने बुक्याब र खुराइजमा रहेका विशाल तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणपछि त्यहाँ ठूलो आगलागी भएको थियो।

आक्रमणको जिम्मा इरान निकट यमनका विद्रोही हुथी समूहले लिएको छ। हुथी विद्रोहीका प्रवक्ताले १० वटा ड्रोनबाट आक्रमण गरेको दाबी गरेको छ।यद्यपी यस आक्रमण इरानले नै गरेको अमेरिकाको आरोप रहेको छ। हाल इरान र अमेरिकाबीच तनाव जारी छ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले इरानले अरबको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको अरोप लगाएका हुन्।समाचार संस्था रोयटर्स र वाल स्ट्रीट जर्नलका अनुसार यस आक्रमणबाट उक्त कम्पनीको ५० लाखभन्दा बढी ब्यारेल तेल उत्पादनमा कमी आउनेछ।

साउदी अरबले सरकारी स्वामित्वका दुईवटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरिएपछि तेल र ग्यास उत्पादनमा कटौती नै गरेको छ।

साउदीका ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलमानका अनुसार आक्रमणका कारण कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेल कमी आएको छ।

आरामको विश्वमै एक ठूलो तेल तथा ग्याँस उत्पादन कम्पनी मानिन्छ। सीएनएनका अनुसार यसले साउदी अरबमा ५० प्रतिशत तेल आपूर्ति गर्ने गर्दछ। विश्वको ५ प्रतिशत तेल आपूर्तिमा आरामकोको योगदान रहेको छ।

कम्पनीले तेल तथा ग्याँस उत्पादनमा भारी कटौती गरेपछि विश्वमा तेलको मूल्य बढ्ने आशंका गरिएको छ।

Featured