देश

रतुवा मारेको आरोपमा ७ जना पक्राउ

सल्यान, भदौ २८–सल्यानमा संरक्षित वन्यजन्तु रतुवा मारेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ। जिल्ला वन कार्यालय सल्यानका निमित्त प्रमुख तथा सूचना अधिकारी मनोज शर्मा लम्सालले कुमाख गाउँपालिका–३ इग्रेखोलामा रतुवा मारेर खाने तयारी गरेको भन्दै मृत रतुवा सहित सातजनालाई पक्राउ गरेको जानकारी दिए। पक्राउ पर्नेमा कुमाख गाउँपालिका–३ का ५२ वर्षीय गणेश केसी, सोही ठाउँका ४९ वर्षीय शिव कुमार शाही, ४९ वर्षीय कुशे रावत, ४० वर्षीय लिलाधर केसी, २६ वर्षीय तेज बहादुर केसी, ३० वर्षीय देवस्थल केसी र ७५ वर्षीय सोबे बुढा रहेका छन्।

पक्राउ परेका सबैलाई शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ। सूचना अधिकारी लम्सालले घटनामा संलग्न भएको प्रमाणित भएमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६को उपदफा ४ अन्तरगत चोरी शिकारी अन्तरगत ६ महिना कैद र २० हजार जरिवाना अथवा दुवै सजाय हुनसक्ने जानकारी दिए।

Featured