देश

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

ओखलढुंगा, भदौ २८–चम्पादेवी गाउँपालिका–१० का अध्यक्ष उज्जन बुढाथोकी शुक्रबार सदरमुकाम आउँदा सिद्धिचरण नगरपालिका १२ स्थित नयाँबजार नजिकै सडकमा मोटसाइकलसँगै फसे।हिलोमा फसेको भीआर मोटरसाइकल जबरजस्ती निकाल्न खोज्दा चिप्लिएर लड्यो।

हिलोमा मोटरसाइकल फसेपछि निकाल्नै सकिएन, चिप्लिएर लडेँ, साथीहरु आएर निकाल्न सहयोग गरे, हातमै चोट लाग्यो उनले भने, ‘सदरमुकामै बाटो यस्तो छ, यही बाटो अस्पताल पुग्छ, बिरामी कसरी जाने?’अस्पतालमा आफन्त भेट्न आएका कुमार मगर पैदल यात्रा गर्दा ३ ठाउँमा चिप्लएर लडे। २० मिनेटमा पुगिने ठाउँमा उनलाई एक घण्टा समय लाग्यो। हिलोमा फसेर लडेका उनले भने, ‘सडक हो की रोपाईं गर्न तयारी गरेको खेत, छुट्याउनै मुस्किल भो, अस्पतालमा हिलोमा लत्पतिएर पुग्दा आफन्तले चिनेनन्।’

यी प्रतिनिधी घटना मात्रै हुन्। ओखलढुंगा–रामपुर सडकखण्डको ओखलढुंगा–सोब्रु खण्डमा ठेकेदारले जथाभावी खनेर छाडेको माटो बगेपछि सडक खेत जस्तै बनेको छ। सदरमुकामबाट पश्चिम जाने मूल सडक मात्रै नभइ सामुदायिक अस्पतालसमेत त्यही सडक भएर पुग्नु पर्ने भएपछि पैदल र मोटरसाइकल यात्रीलाई सास्ती भएको छ।

कालोपत्रे गर्न खनेर छोडिएको माटो र गेगर वर्षाका कारण बगेर सडकमा थुप्रिएपछि यस्तो समस्या आएको हो। सामान्य अवस्थामा ओखलढुंगा बजारदेखि सामुदायिक अस्पताल पुग्न पैदल यात्रामा २० मिनेट लाग्छ। सवारी साधान प्रयोग गर्दा ५ देखि ७ मिनेट लाग्छ। तर, अहिले उक्त सडकखण्ड पार गर्न पैदल यात्री सक्दैनन्।

सुनकोसी गाउँपालिका १० घर भइ सदरमुकाममा व्यवसाय गर्ने निशान श्रेष्ठले भने, ‘मोटरसाइकल पनि पार गराउँन सकिँदैन, त्यसैले म घर जान सकेको छैन।’ अस्पतालमा बिरामी लिएर आएका एम्बुलेन्ससमेत घण्टौं फस्ने गर्छन्। बाटो फराकिलो बनाइए पनि लेदो र ढुंगाले सडक हिलाम्य बनेको हो।

‘उपचार गर्न आएका बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था रहेछ’, खोटाङबाट उपचारका लागि बिरामी लिएर आएका जैभान राईले भने। अस्पतालसम्म पुग्ने सडक बेहाल हुँदासमेत नगरपालिकाले चासो दिएको छैन।

अस्पताल जाने सडक सहज बनाउन नगरपालिकामा ध्यानाकर्षण गराइएको स्थानीय युवा सोचन शाक्यले बताए। उनले भने, ‘नगरपालिकालाई भने पनि सुनेको छैन।’ २० मिनेटमा पुगिने ठाउँमा सर्वसाधारण हजार रुपैयाँ तिरेर गाडी रिर्जब गर्न बाध्य छन्। सिद्धिचरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले कालोपत्रेको काम जिम्मा लिएको ठेकेदार कम्पनीले काम गरेकाले त्यही ठाउँमा नगरपालिकाले काम नगरेकोे बताए।

उनले भने, ‘पुनःनिर्माण अन्र्तगत कालोपत्रेको काम ठेकेदार कम्पनीले गरिरहेको छ, हामीले हात हाल्ने कुरा भएन, दैनिक पानी पर्दा लेदो बगेर आइरहन्छ, सफा गरेर साध्य हुदैन्।’ उनले बाटोको विषयमा कुराकानी गरेर ठेकेदारलाई सचेत गराइएको बताए। ठेकेदारले काम गरे पनि अस्पताल जाने बाटौ नै नभए पछि नगरपालिकाले काम गर्नुपर्ने स्थानीयको माग छ।

Featured