देश

गाउँ गाउँमा पहिरो, बाजुरा सडक सम्बन्धबाट बिच्छेद

बाजुर, भदौ २८–सदरमुकाम जोड्ने साँफे–मार्तडी सडक खण्डको बुढीगंगा नगरपरालिका–१ मा रहेको अम्कोटमा शुक्रवार रातीबाट नियमित पहिरो खस्न थालेपछि प्रदेश र केन्द्रसँगको सडक सम्बन्ध बिच्छेद भएको हो । शुक्रबार रातीको अविरल वर्षाका कारण आएको पहिरो शनिबार विहान जेसीवी प्रयोग गरी सडक सुचारु भएपनि दिउसो साढे १२ बजे पुनः २० मिटर लामो पहिरो आएपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी उपरिक्षक जनकराज ढुङ्गानाले जानकारी दिएका छन् ।

‘अम्कोटमा विहान आएको पहिरो पन्छाएका थियौं ठुलो पहिरो आएका कारण जेसीवीले नसक्ने भए पछि स्काभेटरको प्रतिक्षामा छौं स्काभेटर आयो भने पहिरो पन्छाउछ र केही दिनमा बाटो खुल्छ,’ उनले भने । ‘सडकको माथिबाट पहिरो खस्न नरोकिएकाले आजै सडक मर्मत गर्न सम्भव नभएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए ।

सडकमा पटक पटक पहिरो जान थालेपछि यहाँका स्थानीयहरुले सास्ती भोग्दै आएका छन् । उक्त सडकमा संचालन हुने लामो तथा छोटो दुरीका यातायातका साधन समेत संचालनमा अवरोध पुगेको यातायात व्यवसायी पृथ्वी रावलले बताए । उक्त सडकमा संचालन हुँदै आएका जीप तथा गाडीमा यात्रा गर्ने यात्रुहरुले चर्काे भाडा तिर्न बाध्य छन् । सडक अवरुद्ध भएको बाहना देखाउदै ब्यापारीहरुले सामानको रेट बढाउने गरेका छन् । साँफे–मार्तडी सडक खण्ड अबरुद्ध भएको यो चौथो पटक हो । यो बाटो भएर हुम्ला मुगु र बाजुराको सदरमुकाम मार्तडीसम्म पुग्ने यात्रुले बर्षेनी सास्ती झेल्दै आएका छन् ।

Featured