देश

वन्द विमानस्थल सबै सुचारु हुन्छन्ः मन्त्री भट्टराई

धनगढी, भदौ २८–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धनगढी बिमानस्थललाई चौविसै घण्टा सञ्चालन हुने गरी आधुनिकीकरण गरिने बताएका छन् । कैलाली उद्योग वाणिज्य संघले शनिबार धनगढीमा आयोजना गरेको स्वागत कार्यक्रममा नागरिक उड्डयन मन्त्री भट्टराईले स्तरोन्नति गर्न सरकारले यसै आर्थिक बर्षमा काम गर्ने गरी बजेट छुट्ट्याइएको बताएका हुन् । उनले धनगढी विमानस्थलमा सुविधा थप्न लागि यसै बर्ष जग्गा अधिग्रहण गरिने बताए ।

प्रत्येक प्रदेशका राजधानीमा रहेका बिमानस्थलहरुलाई आधुनिकीकरण गर्ने योजना सरकारले अगाडि सारेको मन्त्री भट्टराईले बताए । उनले प्रदेशमा राजधानी भएका विमानस्थललाई बिशेष महत्व दिएर सरकारले काम गरिरहेको बताए । मन्त्री भट्टराईले कञ्चनपुरको मझगाँउ र बैतडी, अछाममा रहेका बन्द विमानस्थल सुचारु गरिने बताए ।

स्थानीय तहका प्रमुखहरुलाई विमानस्थलको वरीपरी नयाँ संरचना निर्माणका लागि अनुमति नदिन समेत स्थानीय तहका पदाधिकारीहरुलाई उनले अनुरोध गरे । नयाँ संरचना बनाए विमानस्थल बिस्तार गर्दा भत्काउन निकै बढी रकम खर्च हुने बताउँदै उनले पहिले नै सावधानी अपनाउनुपर्ने बताए ।

मन्त्री भट्टराई पर्यटन प्रवद्र्धनको जिम्मेवारी संघीय सरकार जस्तै प्रदेश सरकार र स्थानीय तहको पनि रहेको बताए । उनले सुदूरपश्चिम प्रदेशको पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुका साथै त्यहाँ पर्यटन पूर्वाधार निर्माण गर्नका लागि समेत संघीय सरकारले योजना ल्याएको बताए । उनले प्रदेश र स्थानीय सरकारले समेत सक्दो प्रचार प्रसार गर्नुपर्ने र पूर्वाधार निर्माणको काममा समेत ध्यान दिनुपर्ने बताए । ‘स्थानीय तहलाई डोजरले बाटो खन्न मात्रै बजेट दिइएको होइन’, मन्त्री भट्टराईले भने, ‘शिक्षा, स्वास्थ्य र पर्यटन प्रवद्र्धनमा पनि स्थानीय तहले बजेट खर्च गर्नुपर्छ ।’

उनले प्रदेश सरकारले मन्दिरमा बजेट खर्च नगरेर पर्यटनको प्रवद्र्धनका लागि पर्यटकीय क्षेत्रमा स्थानीय खानपान संस्कृतिको संरक्षण, पूर्वाधार विकासमा लगानी र अन्य आवश्यक संरचना बनाउने तर्फ ध्यान दिनुपर्ने बताए । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मन्दिरमा मात्रै ठूलो बजेट खर्च गरेको छ । प्रदेश सरकारले पर्यटकीय क्षेत्रमा पूर्वाधार विकासमा कुनै पनि लगानी नगरेको गुनासो छ । मन्त्री भट्टराईले मन्दिरमा खर्च गर्नुभन्दा पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा लगानी गर्न प्रदेश सरकारलाई सुझाव दिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट पनि सहभागी थिइन् ।

Featured