देश राजनीति

कांग्रेसले बुझायो गृहमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं, भदौ २८–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जागरण अभियानका क्रममा आफ्ना नेता कार्यकर्तामाथि बाँकेमा भएको आक्रमणमा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएको छ । कांग्रेस काठमाडौंका सभापति कृष्ण (सवज) बानियाँ, ललितपुरका मदन अमात्य र भक्तपुरका दुर्लभ थापाले बिहीबार बिहान गृहमन्त्री रामबहादुर थापालाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

विज्ञप्तिमा कांग्रेसले दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ । पार्टीका दर्जनौं कार्यकर्तामाथि सुनियोजित एवं सांघातिक हमला भएको भन्दै दोषीलाई कारबाही नगरिए थप आन्दोलन गर्ने चेतवानी पनि दिएको छ । ‘जागरण अभियानको कार्यक्रमलाई बिथोल्ने वद्नियतका साथ सुनियोजित रुपमा कांग्रेसका नेता एवं कार्यकर्ताहरुलाई आक्रमण गर्ने अपराधीहरुलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारलाई सचेत गराउँदछौं । उल्लेखित दोषीहरु उपर कारबाही नभएको खण्डमा नेपाली कांग्रेस कडाभन्दा कडा थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछ ।’

उक्त घटनाको विरोधमा उपत्यकाका तीन जिल्ला सभापतिहरुको नेतृत्वमा आजै अपरान्ह ३ बजे माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम छ । नेपालगञ्जमा जागरणको दोस्रो चरणको अभियानका क्रममा गत बिहीबार सत्तारुढ नेकपा कार्यकर्ताको आक्रमणबाट कांग्रेस जिल्ला सभापति किरण कोइरालाको बायाँ हात भाँचिएको थियो भने अन्य नेता तथा कार्यकर्ता घाइते भएका थिए ।

Featured