खेलकुद देश

ओलम्पिक कमिटी निर्वाचन : इतिहासमै पहिलो पटक प्यानलसहितको चुनावी प्रतिस्पर्धा

काठमाडौं, भदौ २८–नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्व चयनका लागि शनिवार निर्वाचन हुँदै छ । नेपालको ओलम्पिक इतिहासमै पहिलो पटक प्यानलसहितको चुनावी प्रतिस्पर्धा हुन लागेको निर्वाचनमा चार वर्षअघिकै समीकरणका रूपमा अध्यक्षका लागि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने छ ।

अध्यक्षका दुवै उम्मेदवारले आ–आफ्नो तयारीलाई अन्तिम रुप दिन प्रयास गरिरहेका छन् । वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठले मतदातालाई प्रभावित पार्न राजनीतिक दबाब आएको दाबी गरेका छन् । पूर्व उपाध्यक्ष उमेशलाल नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल र महिला नेतृ सहाना प्रधानका छोरा हुन् । उनी राजनीतिमा खासै सक्रिय छैनन् । तर, उद्योग व्यवसायमा भने सफल छन् । दुई पटक राखेप सदस्यसचिव नियुक्त भइसकेका जीवनराम काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वा्चित नेकपाका सांसद हुन् । अध्यक्षका प्रत्याशी जीवनरामले अध्यक्षमा निर्वा्चित हुनुअघि दुई कार्यकाल महासचिवका रूपमा बिताएका थिए ।

यसपटक महासचिवसहित प्यानल बनाएर चुनावी प्रतिस्पर्धा हुने छ । रोचक पक्ष के छ भने चुनावी प्रतिस्पर्धामा होमिएका एउटै पार्टी अर्थात सत्तारुढ दल नेकपा निकट उम्मेदवार छन् । जीवनराम प्यानलबाट ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ महासचिवका प्रत्याशी छन् । उमेशलाल प्यानलबाट नेपाल कराँते महासंघका पूर्वअध्यक्ष पुरेन्द्रविक्रम लाखेले महासचिवमा उम्मेदवारी दिएका छन् । निलेन्द्र वर्तमान कमिटीका सदस्य र पुरेन्द्र उपाध्यक्ष हुन् ।

अध्यक्षमा २, ५ उपाध्यक्षका लागि ८, महासचिवका लागि २, ३ सचिवका लागि ४ जना र ७ सदस्यका लागि ८ जनाको उम्मेदवारी परेको छ । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीसमेत उपाध्यक्ष बन्ने होडमा लागेका छन् । त्यस्तै सचिव पदमा नेपाल उसु फेडेरेसनका अध्यक्ष तथा निवर्तमान सदस्यसचिव केशवकुमार विष्ट र नेपाल कबड्डी संघकी अध्यक्ष रहेकी संघीय सांसद तुलसा थापा सचिवको दौडमा छन् । उनी नेकपा उपाध्यक्ष वामदेव गौतमकी पत्नी पनि हुन् ।

खेल संघका पदाधिकारीका लागि आकर्षक मानिएको ओलम्पिकमा आफ्नो पदीय हैसियत बिर्सेरै होमिने गरेका छन् । २० भदौमै हुनुपर्ने निर्वाचन सर्वोच्च अदालतमा रिट परेपछि शनिवारका लागि सारिएको हो । जीवनराम नेतृत्वको कमिटी अवैधानिक भएको दाबीसहित परेको रिटमा सर्वोच्चले २२ भदौमा अन्तरिम आदेश दिन अस्वीकार गरी मुद्दा खारेज गरेपछि ओलम्पिक चुनावको बाटो खुलेको हो ।

निर्वाचनका लागि अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र एसियाली ओलम्पिक कमिटी (ओसीए)का काठमाडौं आइसकेका छन् । अन्तर्रा्ष्ट्रिय प्रतिनिधिका रूपमा ओसीएका अन्तर्रा्ष्ट्रिय सम्बन्ध निर्देशक विनोद तिवारी नेपाल आएका छन् । एसोसिएट सदस्यको मान्यता पाएका २७ खेल संघका प्रतिनिधिले ओलम्पिक चुनावमा मतदान गर्न पाउनेछन् ।

Featured