देश

कटहरी गाँउपालिकाका युवालाई सामुदायिक विपद् प्रतिकार्य तालिम

विराटनगर, भदौ २८–कटहरी गाँउपालिकाका युवायुवतीलाई सामुदायिक विपद् प्रतिकार्य तालिम प्रदान गरिएको छ । नेपाली सेनाको थलहा ब्यारेकस्थित सुर्यदल गण र कटहरी गाँउपालिकको सहकार्यमा गाँउपालिकाका २३ जना युवायुवतीलाई सो तालिम प्रदान गरिएको हो ।

सेनाका प्रशिक्षित अधिकृतहरुले सहभागि युवायुवतीलाई विपद् आइपर्दा राहत र उद्धार गर्ने तरिका तथा प्राथमिक उपचार लगायतका बिषयमा तालिम दिएका थिए । सहभागिलाई बाढीपहिरो,आगलागी,भूकम्प,सर्पदंश र डूब्दै गरेको ब्यक्तिलाई बचाउने तरिका लगायतका बिषयमा प्रशिक्षण दिइएको कटहरी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश कार्कीले जानकारी दिए । सहभागिलाई प्रयोगात्मक र सैद्धान्तिक दुवै तरिकाबाट प्रशिक्षण दिइएको उनले बताए ।

४ दिने तालिम समापनको अवसरमा कटहरी गाँउपालिकाका प्रमुख रामकुमार कामतले तालिममा सिकेका कुराहरुलाई समस्या आइपर्दा ब्यवहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गरे । सुर्यदल गण थलाहा ब्यारेकका प्रमुख सेनानी,गणपति रघुनाथ पौडेलले कटहरीबाट शुरु गरिएको सोहि प्रकारको तालिम मोरङका अन्य पालिकाका युवायुवतीहरुलाई समेत प्रदान गरिने जानकारी दिए । गाँउपालिकाका ७ वटै वडाका युवायुवतीहरुलाई सहभागि गराएर सो तालिम प्रदान गरिएको हो ।

Featured