देश

रामटारमा नवनिर्मित कृषि उपज संकलन केन्द्रको उद्घाटन

काठमाडौं, भदौ २७–सिन्धुलीको सुनकोशी गाउँपालिका(५ रामटारमा नवनिर्मित कृषि उपज संकलन केन्द्रको उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष दीपा बोहोराले केन्द्रको उद्घाटन गरेकी हुन् । गाउँपालिकाले अब उत्पादनका आधारमा किसान परिचय पत्र वितरण गर्ने पनि उनले बताइनु । ‘एक वडा एक उत्पादनका लागि गाउँपालिकाले विशेष योजना बनाएर काम गरिरहेको छ,’ उनले भनिन्, ‘व्यवसायिक कृषिलाई प्रोत्साहन गरी कृषकलाई अधिकतम लाभ दिनका लागि कृषि संकलन केन्द्र उपयोगी हुने छ भन्ने मेरो विश्वास छ ।’

उद्घाटन कार्यक्रममा सुनकोशी गाउँपालिकाका उपाध्यक्ष दिर्वुसिं मुक्तानले कृषकहरुले उत्पादन गरेका वस्तु संकलन केन्द्रसम्म ल्याइसकेपछि बजारसम्म लगेर बिक्रीवितरणको व्यवस्था मिलाउने बताए । सुनकोशी गाउँपालिका वडा नं. ५ का अध्यक्ष कृष्णराज दाहालले सुनकोशी गाउँपालिका र सर्भ परियोजनाको संयुक्त लगानीमा बनेको कृषि संकलन केन्द्रबाट गाउँपालिकाभित्रका कृषकलाई लाभ हुने विश्वास व्यक्त गरे ।

सहयोगी संस्था मर्सिकोर नेपालका प्राविधिक सल्लाहकार अभिमन्यु हुमागाईंले स्थानीय सरकारसँग संयुक्त रुपमा श्रोत परिचालन गरी काम गर्दा राम्रो प्रतिफल निस्कने र यसको प्रत्यक्ष उदाहरण सुनकोशी कृषि संकलन केन्द्र भएको बताए । सामुदायिक विकास कार्यक्रम सिन्धुलीका सचिव मिलनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा सुनकोशी गाउँपालिका वडा नं. २ का अध्यक्ष भोजकुमार सिंजाली, सुनकोशी उद्योग वाणिज्य संघका अध्यक्ष मंगललाल फुयाँल, सुनकोशी होटल व्यवसायी संघका अध्यक्ष मीनकुमार श्रेष्ठ, सुनकोशी सहकारी सञ्जालका सचिव चक्रबहादुर श्रेष्ठ, कृषक अर्जुन के.सी.लगायत कृषि उपज संकलन केन्द्र सञ्चालनमा आएको खुसी व्यक्त गरे ।

मर्सिकोर नेपाल एवं सामुदायिक विकास कार्यक्रम सिन्धुलीद्वारा संचालित भुकम्प प्रभावित जोखिम वर्ग घरधुरीका लागि पुनःर्लाभ सहयोग कार्यक्रम (सर्भ परियोजना) को ११ लाख र सुनकोशी गाउँपालिकाको १४ लाख ५१ हजार गरी कूल २५ लाख ५१ हजारको लागतमा कृषि उपज संकलन केन्द्र सञ्चालनमा आएको हो । केन्द्रमा कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरु ल्याइ बिक्रीवितरण गर्ने व्यवस्था मिलाइएको जानकारी कार्यक्रम संयोजक कुमार भण्डारीले दिए । उद्घाटन कार्यक्रममा कृषकहरुले आफ्ना उत्पादनहरु ल्याइ बिक्रीवितरण गरेका थिए भने स्थानीय महिला सहकारीद्वारा उत्पादन गरिएका ढाका कपडा तथा फाइवर झोला पनि प्रदर्शन गरिएको थियो ।

Featured