मनोरंजन

भद्रगोलको काउन्टरमा सक्किगोनि !

काठमाडौं, भदौ २७–नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्य टेलिशृङ्खला ‘भद्रगोल’मा कुमार कट्टेल (जिग्री)को एउटा डाइलग निकै हिट थियो, ‘सक्किगोनि’ । र, अब उनको यो डाइलग नै कार्यक्रमको नाम हुने भएको छ । भद्रगोल टिमले अब सक्किगोनि नामको हास्य टेलिशृङ्खला ल्याउन लागेको हो । निकै लोकप्रिय कार्यक्रम थियो भद्रगोल । युट्युबमा प्राय ट्रेन्डिङ कब्जा गर्थ्यो । नेपाल टेलिभिजनबाट प्रशारण हुने उक्त कार्यक्रम निकै कमजोर बनेको छ ।

यो खबरले भद्रगोलका धेरै दर्शकलाई निराश पारेको छ । यद्यपि, निराश दर्शकलाई उत्साहित बनाउन ‘सक्किगोनि’ प्रशारण हुने कलाकार कुमार कट्टेल (जिग्री)ले जानकारी दिए । दर्शकले २ असोजबाट नेपाल टेलिभिजनको त्यही समयमा तिनै कलाकार, पुरानै शैलीको कथा वस्तु, उही परिवेशका साथमा सक्किगोनि हेर्न पाउने उनले बताए । भद्रगोलको पछिल्लो इपिसोड युट्युबमा हेर्न पाइन्छ । तर, त्यसलाई दर्शकले रुचाएका छैनन् । लाइकभन्दा डिसलाइक तेब्बरले बढी देख्न सकिन्छ । कारण हो, भद्रगोल टिमको अपूर्णता ।

उत्पादकसँगको विवादका कारण मुख्य कलाकारहरुले भद्रगोल छाडिदिएका छन् । जसका कारण नामजस्तै टेलिसिरियलको काम पनि ‘भद्रगोल’ भएको छ । उत्पादक मिडिया हबले भद्रगोल ट्रेडमार्क आफ्नो नाममा दर्ता गरेको छ । जसका कारण भद्रगोल छाडेर गएका कलाकारले यही नाममा अर्को टेलिसिरियल बनाउन पाउँदैनन् । त्यसैले उनीहरुले भद्रगोलबाटै चर्चित एउटा डाइलगलाई कार्यक्रमको नाम बनाएर उत्पादन गर्न लागेका हुन् ।

Featured