देश

कांग्रेसले कोइरालामाथिको आक्रमणविरुद्ध प्रदर्शन गर्ने

काठमाडौं, भदौ २७–नेपाली कांग्रेसले पार्टी जिल्ला कार्यसमिति बाँकेकी सभापति किरण कोइरालामाथि शुक्रबार बाँकेको खजुरा गाउँपालिकास्थित सितापुरमा आयोजित कार्यक्रममा गरिएको आक्रमणविरुद्ध राजधानीमा प्रदर्शन गर्ने भएको छ । शुक्रबार नेकपाका स्थानीय कार्यकर्ताको आक्रमणमा परी जिल्ला सभापति कोइरालाको हात भाँचिएको थियो भने अन्य एक दर्जन नेता घाइते भएका थिए । प्रहरीले घटनामा संलग्न भएको भन्दै तीन जनालाई गिरफ्तार गरेको थियो ।

जिल्ला सभापति कोइरालामाथि भएको आक्रमणको विरोधमा शनिवार माइतीघर मण्डलामा दिउँसो ३ बजे शान्तिपूर्ण धर्नामा बस्ने र प्रदर्शन गर्ने निर्णय भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले उपत्यकाका तीनवटा जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कार्यसमितिको आयोजनामा बिहान ८ बजे गृह मन्त्रालय पुगेर गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइने जानकारी दिए ।

प्रवक्ता शर्माले कांग्रेस जिल्ला सभापति कोइरालामाथिको आक्रमण आक्रमण मात्र नभएर एक ७० वर्षीया महिलामाथिको हिंसा भएको दाबी गरे ।उनले भने, ‘अहिंसामाथि विश्वास गर्ने पार्टीकी नेतृमाथि सत्तारुढ दलकै जिम्मेवार कार्यकर्ताहरूबाट भएको आक्रमणले राजनीतिलाई दूषित बनाएको छ ।’ कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले गिरफ्तार गरिएका अभियुक्तलाई कारबाही नगरिए ७७ जिल्लामै विरोध प्रदर्शन गरिने चेतावनी दिए ।

Featured