देश

र्मयो भनेर गाड्न ठिक्क पारेको बच्चा जिउँदै भएको थाहा भएपछि..

काठमाडौं, भदौ २७–जाजरकोट छेरागाड नगरपालिका–९ की कमला अधिकारीले शुक्रबार बिहान भेरी अञ्चल अस्पतालमा नवजात शिशुलाई जन्म दिइन् । बच्चाको जन्मसँगै उनी निकै खुसी थिइन् । तर, उनको यो खुसी धेरै बेर रहेन । केही घण्टापछि नै लेवर वार्डकी डिउटी इन्चार्ज बसुन्धरा ज्ञवालीले शिशुको मृत्यु भइसकेको खबर सुनाउँदै अभिभावकलाई बच्चा बुझ्न लगाइन् ।

त्यसअघि बच्चाका बुबा मिलन अधिकारीलाई ‘बच्चा मरेको’ भनेर लेखिएको कागजमा हस्ताक्षर गराइयो । ‘तपाईंको बच्चा मरिसकेको छ भन्दै बसुन्धरा ज्ञवालीले लैजान भन्नुभयो,’ शिशुका बुबा मिलनले भने । मरेको शिशुलाई गाड्नका लागि अस्पतालका कर्मचारीले मिलनसँग २ हजार रुपैयाँ मागे । तर, मिलनले अस्वीकार गरे र बच्चालाई कालो प्लास्टिकको झोलामा बेरेर नेपालगञ्जको बुलबुलियास्थित हिन्दु मसानघाट पुगे ।

गाड्नका लागि बच्चाको साइजअनुसारको खाल्डो खनियो । गाड्ने बेलामा मसानघाटकी कर्मचारी कलावती नेपालीले एकपटक बच्चालाई हेर्ने बताइन् । त्यसपछि उनले बच्चाको नारी छामिन्, अनुहार नियालिन् । ‘बच्चा जिउँदै छ, कसले भन्यो मर्यो भनेर ?’ उनले यति भन्नसाथ मिलनले पुनः बच्चालाई तुरुन्तै भेरी अस्पताल नेपालगञ्ज पुर्याए । बच्चाको उपचार अहिले भइरहेको छ ।

मृत्यु भइसकेको घोषणा गरिएको नवजात शिसु जीवतै भेटिएको यो घटनामा लेवर वार्डमा खटिएका कर्मचारीको चरम लापरवाही देखिएको छ । मर्दै नमरेको बच्चालाई मर्यो भनेर पञ्छाउन खोज्ने कर्मचारीले चित्तबुझ्दो जबाफ दिन नसकेको शिशुका आफन्तले बताएका छन् । भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. संकेत रिसालले घटनाबारे बुझ्ने काम भइरहेको बताए ।

तर, भेरी अस्पताल नर्सिङ प्रशासन प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठले शिसु मरेको भनेर अस्पतालले प्रमाणित नगरेको दाबी गरिन् । शिशुका बुबा मिलनले भने अस्पतालले आफूलाई बच्चा मरेको व्यहोरा उल्लेखित कागजातमा हस्ताक्षर र औंठा छाप गर्न लगाएको बताएका छन् ।

Featured