देश

सरकारले असंलग्न परराष्ट्र नीतिको उल्लंघन गरेको भन्दै पम्फा र अमरेसको आपत्ति

काठमाडौं, भदौ २८–सरकारको पछिल्लो गतिविधि परराष्ट्र नीतिविपरीत भएको भन्दै सत्तारुढ नेकपाकी सांसद पम्फा भुषाल र प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद डा. अमरेस कुमार सिंहले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद भुषालले मुलुकको हितविपरीत असंलग्न स्वतन्त्र विदेश नीति अवलम्बन नगरेको भन्दै सरकारको आलोचना गरिन् । उनले पछिल्लो समय घोषित निर्णयहरू केही नभए पनि अघोषित निर्णयहरूले मुलुकलाई विवादमा पारेको टिप्पणी गरिन् ।

‘प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई भेटेर नेपाल एक चीन नीतिको पक्षमा रहेको र इण्डो प्यासिफिक एलाइन्समा नरहेको भन्ने भनाइलाई लिएर नेपालस्थित अमेरिकन दूतावासले नेपाल सरकारसँग स्पस्टिकरण माग गरेको कुरा के हो ?’, भुषालको प्रश्न थियो, ‘योबारे नेपाल सरकारले स्पस्ट पार्नुपर्छ ।’ भुषालले २३ अगस्टमा अमेरिकन दूतावासले नेपाल सरकारलाई चिट्ठी लेखेर नोभेम्बर ४ देखि १५ सम्म नेपालको सशस्त्र प्रहरीसँग अमेरिकन सेनाले दुईवटा तालीमको प्रस्ताव गरेको विषयमा जानकारी दिन माग गरिन् ।

भुषालले एउटा हाई अल्टिच्युटको नाममा अन्नपूर्ण राउण्ड र अर्को सुट वाटर रेस्क्यू भनेर कुरिनटारमा राख्ने भनी अमेरिकी दूतावासले चिट्ठी लेखेको जानकारीमा आएको भन्दै यसमा सरकारको धारणा स्पस्ट पार्न माग गरिन् । ‘नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग छ र कुनै राष्ट्रले बनाएको एलाइन्स नाटोको स्तरको इण्डो प्यासिफिक एलाइन्स विवादस्पद छ’, भुषालले भनिन्, ‘नेपाल औपचारिक रूपमा यो एलाइन्समा आवद्ध छैन । पत्रका बारेमा सरकारले सदनलाई जानकारी गराओस् ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. अमरेसकुमार सिंहले सरकारको अपरिपक्व र बच्पना परराष्ट्र नीतिले नेपालको अस्तित्व रहन्छ वा रहँदैन भन्ने अवस्थामा पुगेको बताए ।

उनले बीआरआई र इण्डो प्यासिफिक दुईवटै स्ट्राटेजिक महत्त्वका नीति भएको र असंलग्न परराष्ट्र नीतिको विपरीत सरकार लागेको विषयमा सरकारको ध्यानाकर्षण गराए । ‘सत्तारुढ नेकपाकै अध्यक्षले इण्डो प्यासिफिकको पक्षमा छैनौं भनेर बोलेको केही समयअघि नै पेण्टागनले परराष्ट्रमन्त्रीलाई नेपाल बीआरआईको पार्ट हो कि होइन ? भनेर जिज्ञासा राखेको थियो’, सिंहले भने, ‘त्यस विषयमा हाम्रो धारणा के हो ?’

उनले दुई छिमेकीलाई समान व्यवहार गरिएन भने दुर्भाग्य हुने भन्दै चीन र भारतका परराष्ट्र मन्त्रीले नेपालको भ्रमण गर्दा समेत विभेद गरेको टिप्पणी गरे । ‘एउटा देशको परराष्ट्रमन्त्री आउँदा परराष्ट्र सचिव जाने अनि अर्को देशको परराष्ट्रमन्त्री आउँदा मन्त्री नै रिसिभ गर्न जाने कस्तो व्यवहार हो ?,’ सिंहको प्रश्न थियो, ‘एउटा परराष्ट्रमन्त्री नेपाल आउँदा सत्तारुढ दलका अध्यक्षले प्रोटोकल मिल्दैन भनेर नभेट्ने तर अर्को देशको परराष्ट्रमन्त्री आउँदा भेट्न मिल्छ ?’ उनले सत्तारुढ दलको अध्यक्षले भेटेको विषयमा स्पस्ट पार्न सरकारसँग माग गरे । बिहीबारको बैठकमै कांग्रेस सांसद सञ्जय गौतमले स्वास्थ्य मन्त्रीको राजीनामाको माग गरेका छन् । उनले डेंगुको महामारीबाट जनता मर्दा र हजारौं बिरामी हुँदासमेत स्वास्थ्य मन्त्री र सरकार सुतेर बसेको आरोप उनको थियो ।

Featured