देश

स्क्रव टाइफसको संक्रमणबाट कैलालीमा एक जनाको मृत्यु

धनगढी, भदौ २६–स्क्रव टाइफसको संक्रमणवाट कैलालीमा बिहीबार एक जनाको मृत्यु भएको छ । बिरामी भएपछि उपचारका लागि मायामेट्रो अस्पतालमा भर्ना भएका २० वर्षीय भरत खातीको आज अपरान्ह करिब ४ बजे मृत्यु भएको अस्पतालका डा. मोहन भट्टराईले जानकारी दिए । यही भदौ २१ गते अस्पताल भर्ना भएका उनको हाल आईसीयूमा उपचार भइरहेको र आज बिहीबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

मुसा जातीमा पाइने एक प्रकारको परजीवी सुल्सुले किर्नामा यो रोगको किटाणु हुने र उक्त किर्नाले मानिसलाई टोकेमा स्क्रव टाइफसको संक्रमण हुने चिकित्सकले बताएका छन् । किर्नाले टोकेको ठाउँमा घाउ हुनु, शरीरमा बिमिरा देखिनु, अत्यधिक ज्वरो आउनु, शरीरका विभिन्न भाग दुख्नु यस रोगका लक्षण हुन् । समयमै रोग परीक्षण गरी उपचार गरेमा यो रोग निको हुने र शंका लाग्नेबित्तिकै अस्पताल जान स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

स्क्रब टाइफस एक प्रकारको जीवाणु ‘रिकेटसया सुसुगामुसी’ ले संक्रमित सूक्ष्म कीरा (माइट) को टोकाइबाट फैलिन्छ । समयमै उपचार नगरे यसले मस्तिष्क, कलेजो, फोक्सो थुप्रै प्रकारको संक्रमण हुन्छ । यो कीरा मुख्यतया खेत, झाडी, घाँस आदि ठाउँमा रहने मुसा प्रजातिको जनावरमा पाइन्छ । यो रोग उत्पन्न गर्ने ब्याक्टेरिया संक्रमित मुसाको पेटभित्रका खाल्डाहरूमा बस्छ । माइट प्रायःजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने गर्दछ ।

Featured