देश

सुनको भाउ घट्यो, प्रतितोला ७० हजार ८०० मा कारोबार

काठमाडौं, भदौ २५-सुनको भाउ बिहीबार २ सय रुपैयाँले घटेको छ। बिहीबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, तेजाबी सुनको मूल्य ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ। तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले नै घटेको हो। बुधबार सुनको भाउ प्रतितोला ७१ हजार रुपैयाँमा स्थिर रहेको थियो।

यता, चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला ८७५ रुपैयाँ कायम भएको छ। तिजको आसपासमा सुन हालसम्मकै किर्तिमानी मूल्य प्रतितोला ७३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा कायम हुने भाउको प्रत्यक्ष असर नेपालमा पनि पर्ने गरेको छ। पछिल्लो समय सुनको मूल्य बढी उतारचढाव आउनुमा अमेरिका र चीनबीच बढ्दो व्यापार युद्ध मुख्य कारण रहेको व्यापारीहरु बताउँछन्।

Featured