विदेश

३२ वर्षीय युवा ८१ वर्षे वृद्धको भेषमा अमेरिका उड्न खोजेपछि…

एजेन्सी, भदौ २६–भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ८१ वर्षीया वृद्धको भेषमा अमेरिका उड्न लागेका ३२ वर्षीय युवा पक्राउ परेका छन् । जयेश पटेल नाम गरेका युवा अमेरिकाको न्युयोर्क जान लाग्दा नक्कली राहदानीसहित पक्राउ परेका हुन् । फुलेको दाह्री भएका र मोटो चस्मा लगाएका ती युवकले प्रारम्भिक सुरक्षाजाँच र अध्यागमन ह्वीलचेअरमा बसेर पार गरेका थिए । तर उनले सबै अधिकारीहरूलाई झुक्याउन भने सकेनन्।

सेन्ट्रल इन्डस्ट्रिअल सेक्युरिटी फोर्सका प्रवक्ताले भने, ‘उनी पक्कै पनि ८० वर्षका थिएनन् । उनको छाला युवाहरूको जस्तो थियो।’ दोस्रो सुरक्षा जाँचका बेला उमेरका कारण आफू उभिन नसक्ने बताएपछि शंका उत्पन्न भएको थियो । अधिकारीहरूले मागेपछि वाहकको नाम अम्रिक सिङ भएको राहदानी देखाएका थिए । राहदानीमा उनको जन्ममिति १ फेब्रुअरी, १९३८ र जन्मस्थान दिल्ली लेखिएको थियो । सोधपुछका क्रममा पटेलले आफूले वृद्धको भेष बनाएको र सो राहदानी गैरकानुनी रहेको स्वीकार गरेका थिए।

लगत्तै उनलाई पक्राउ गरेर अध्यागमनका अधिकारीहरूलाई जिम्मा लगाइएको थियो। उनीमाथि छानबिन जारी छ। भारतका प्रहरी अधिकारीहरूका अनुसार गुजरात राज्यका पटेललाई एकजना दलालले राहदानी र अमेरिकी भिसा उपलब्ध गराउने वाचा गरेका थिए । उनले नै पटेलको हुलिया बदल्ने व्यवस्था मिलाइदिएका थिए ।

Featured