देश

अमेरिकालाई किन चिढ्याउँदैछन् प्रचण्ड ?

काठमाडौ, भदौ २६–गत माघमा (२३ जनवरी) भेनेजुयलाका निर्वा्चित राष्ट्रपति निकोलास मडुरोलाई चुनौती दिँदै प्रतिपक्षी नेता जुवान गुवाइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले त्यसको कडा शब्दमा आलोचना गरे। गुवाइदोका पक्षमा अमेरिकाले समर्थन जनाएपछि त्यसको विरोधमा दाहालले विज्ञप्तिसमेत जारी गरे।

नेपालबाट भौगोलिक रुपमा समेत धेरै टाढा रहेको र कूटनीतिक सम्बन्ध पनि खासै नभएको भेनेजुयलाका विषयमा दाहालले अमेरिकाको आलोचना गरेपछि त्यसबारे लामो समयसम्म चर्चा भयो। त्यो घटनाले नेपाल र अमेरिकाबीचको सम्बन्धमा समेत चिसो ल्याउने काम गरेको थियो।

अमेरिकाको चर्को आलोचनापछि सम्बन्ध बिग्रिएको अनुमानका बीच दाहाल गत चैतमा श्रीमती सीताको उपचारका लागि अमेरिका गएर फर्किए। साउन दोस्रो साता क्युवाली प्रतिनिधिको समेत उपस्थितिमा काठमाडौंमा आयोजना गरिएको क्युवाप्रति ऐक्यबद्धतासम्बन्धी नवौं एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा दाहालले अमेरिकी प्रतिबन्धविरुद्धको क्युवाली संघर्षमा ऐक्यबद्धता जनाए।

कार्यक्रमलाई सम्बोधनका क्रममा उनले अमेरिकालाई कटाक्ष गर्दै अन्यायपूर्ण व्यवहारबाट शान्ति र स्वतन्त्रताप्रेमी जनतालाई मार्न नसकिने बताए। त्यस क्रममा उनले क्युवाप्रति अमेरिकी नीतिको कडा आलोचना गरे। मंगलबार तीनदिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा दाहालले अमेरिकाको महत्वाकांक्षी परियोजना इन्डोप्यासिफिक स्ट्राटेजीलाई अस्वीकृत गर्ने प्रतिबद्धता जनाएका छन्।

वाङ नेपाल भ्रमण सकेर स्वदेश फर्किएपछि चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा दाहालले यस्तो प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ। विज्ञप्तिमा दाहालले नेपाल असंलग्न नीतिमा दृढ रहेको र चीनविरुद्ध अघि सारिएको कथित इन्डो प्यासिफिक स्ट्राटेजीलाई अस्वीकृत गर्ने बताएको उल्लेख छ।

दाहालले चीनको विकासमा अवरोध गर्ने कुनै पनि परियोजना स्वीकार नगर्ने र चीनको विकास नेपालका लागि पनि अवसर भएको बताएको मन्त्रालयले जनाएको छ। दाहालले हङकङमा पछिल्लो समय देखिएको समस्यालाई पनि चीनको आन्तरिक मामिला भएको बताएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Featured