देश

गाउँ व्यवस्थित गर्न भदौ सभा

लमजुङ, भदौ २६–लमजुङको क्व्होलासोंथर गाउँपालिका–४, भुजुङका बासिन्दाले व्यवस्थित र सभ्य रूपमा गाउँ सञ्चालनका लागि आफ्नै नियम बनाएका छन् । गाउँलाई अनुशासनमा राख्न स्थानीयवासीले हरेक वर्ष भदौ महिनामा ‘भदौ सभा’ गरेर नीतिनियम तथा ऐनकानुन बनाउने गरेका हुन् । उनीहरूले यस वर्ष पनि चार दिनसम्म सभा बसेर अर्को भदौसम्मका लागि नियम बनाएका छन् ।

संविधानले गाउँपालिकालाई स्थानीय सरकारका रूपमा कानुन बनाउनेसम्मको अधिकार दिए पनि भुजुङका बासिन्दाले नीतिनियम बनाउन ‘भदौ सभा’ गर्न छाडेका छैनन् । भदौमा बनाएको कानुन अर्को भदौसम्म हुने र बर्से्नि परिमार्जन गर्दै लाने गरेका छन् । रीतिथिति व्यवस्थापन समितिका अध्यक्ष कालबहादुर गुरुङले गाउँलाई एकतामा बाँध्न, शान्त वातावरण बनाउन र अनुशासनमा राख्न भदौ सभा गर्ने गरिएको बताए ।

भदौ सभामा गाउँमा रहेका ३४५ घरधुरीका घरधनी जम्मा हुन्छन् । कुन घरका व्यक्तिले वर्षभरि के के गल्ती गरे, त्यसको लेखाजोखा हुन्छ र अब नगर्ने वाचा गर्ने गर्छन् । उनीहरूले तामाको ताउलो छोएर गाउँको नीतिनियम पालना गर्ने वाचा गर्छन् । गाउँको सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थामा एकरूपता ल्याउन, गाउँलाई एकढिक्का बनाउन र बाहिरी व्यक्तिको हस्तक्षेप रोक्न भदौ सभा गर्ने गरिएको गुरुङले बताए । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

Featured