देश

‘राष्ट्रिय चलचित्र कन्फरेन्स’ भोलिदेखि

काठमाडौं, भदौ २५–मानवअधिकार चलचित्र केन्द्रको आयोजना भोलिदेखि नेपालमै पहिलो पटक तीनदिने ‘राष्ट्रिय चलचित्र कन्फरेन्स’ आयोजना हुने भएको छ । उक्त कन्फरेन्सको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले बताएका छन् । नेपालमा चलचित्र निर्माण, नेपाली चलचित्रको विभिन्न विषयको चित्रण, तिनको प्रभावबारे अध्येताहरूले लेखेका विभिन्न कार्यपत्रको प्रस्तुति, ती कार्यपत्रमाथि छलफल तथा फिल्म क्षेत्रका जल्दाबल्दा विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाली चलचित्रको बहुआयामिक पक्षहरूका बारेमा यस क्षेत्रको क्रियाशील चलत्रिकर्मी पत्रकार, समीक्षक, अध्येता, फिल्मका विद्यार्थी तथा लेखहरूको सहभागिता हुनेछ । चलचित्रकर्मी, चलचित्रका विज्ञ, चलचित्रको अध्ययन अनुसन्धान गरिरहेका व्यक्ति, प्रध्यापनमा संलग्न व्यक्तिहरूले नेपाली चलचित्रका विभिन्न आयाम, यसको प्रभाव, कला सौन्दर्यका बारेमा लेखेका एक दजर्न बढी कार्यपत्रको प्रस्तुति र छलफल हुने कार्यक्रमका संयोजक अनुप सुवेदीले शिलापत्रलाई बताए ।

सुवेदीका अनुसार वरिष्ठ चलचित्रकर्मीको ‘नेपाली चलचित्रमा अनुभव र अनुभूति’ को प्रस्तुति तथा डा. हरि शर्माको नेपाली समाजको अर्थराजनीतिमा चलचित्रको महत्त्वका विषयमा ‘किनोट स्पीच’ पनि समेटिनेछ । ‘चलचित्र एउटा सिंगो समाज हो । एउटा चलचित्रकर्मीले सिंगो समाज पर्दामा उतारेको हुन्छ । आम मान्छेले विभन्न चरणबाट सिनेमालाई व्याख्य गर्छन् ।

कतिपयले यसलाई मनोरञ्जनलाई मात्रै लिन्छन् । तर, निर्माण गर्नेका लागि कलात्मक अभिव्यक्ति पनि हो’, सुवेदी भन्छन्, ‘कुनै पनि फिल्मले समाजमा कुनै न कुनै ढगंबाट प्रभाव पारिरहेको हुन्छ । त्यसको प्रभाव के हो त ? त्यसबारे पनि खोज्नु आवश्यक छ र फिल्म मेकरलगायत आममानिसले बुझ्नुपर्छ ।’

समाज विज्ञानको आँखाबाट नेपाली फिल्मबारे रिसर्च पेपरमा लेखिएको प्रस्तुतिमा हुने छलफल भएको थिएन । ‘यस्ता खालका फिल्मको बहसभन्दा पनि हलले फिल्म चल्न दिएन, फिल्म नराम्रा बने, फिल्म कपी भएजस्ता मुद्दामा मात्रै अल्झिएको थियो । फिल्मको बहस आम समुदायसम्म पुर्याइनुपर्छ । फिल्मक्षेत्रमा देखिएको समस्यामा पनि प्राज्ञिक क्षेत्रबाटै त्यसको समस्या केलाउन र विश्लेषण गरिन्छ । यसकारण पनि यो कन्फरेन्स महत्त्वपूर्ण छ,’ सुवेदीले थपे ।

‘नेपालमा चलचित्र बन्न थालेको ६ दशक भइसक्दा पनि हालसम्म नेपाली चलचित्रका बारेमा गहकिलो बहस, छलफल र विमर्श हुन सकेको छैन । नेपाली फिल्म यथास्थितिमा अडिएजस्तो, यसले बाटो नपाएजस्तो भएको छ । यस कन्फरेन्सबाट नेपाली चलचित्रले अवश्य पनि नयाँ बाटो पहिल्याउन सक्नेछ,’ सुवेदीको दाबी छ ।

कन्फरेन्स चलचित्र विकास बोर्डको सहआयोजनामा हुन लागेको हो । कार्यक्रमका लागि नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नेपाल इन्डिपेन्डेन्ट फिल्म मेकर्स सोसाइटी, चलचित्र निर्देशक समाज, चलचित्र समीक्षक समाज, चलचित्र पत्रकार संघ नेपाल, अस्कर इन्टरनेशनल कलेजको पनि सहयोग रहेको मानवअधिकार चलचित्र केन्द्रका कार्यकारी निर्देशक पाण्डव खत्रीले बताए ।

‘कार्यक्रमले नेपालको बौद्धिक क्षेत्रका व्यक्तिहरूलाई नेपाली चलचित्रका बारेमा अध्ययन अनुसन्धान गर्न, बहसमा सहभागी गराउन र चलचित्रलाई बौद्धिक समुदायको चासोभित्र पार्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएका छौं,’ खत्रीले भने । आममानिसलाई आफ्नो समाज बुझाउन र सौन्दर्य चेतना बढाउन कला साहित्यका अन्य विधासरह चलचित्रको पनि महत्व बुझाउन सकिने आयोजकको दाबी छ ।

Featured