देश

प्रधानमन्त्रीलाई युगपुरुषको संज्ञा

काठमाडौं, भदौ २५–सत्तारुढ नेकपाकी सांसद शान्तिमाया तामाङ पाख्रिनले देशमा चाड पर्व आउन लागेको बेलामा यातायात भाडा नबढ्ने, पेट्रोलिय पदार्थको भाउ घटाउने, देशैभरि सुपथ मूल्यको पसल राख्ने कामको थालनी सरकारले गरेको भन्दै प्रधानमन्त्री ओलीको प्रशंसा गरेकी छन् ।

‘जनताका लागि यति धेरै राम्रो काम गरेकोमा युगपुरुष प्रधानमन्त्री केपी ओलीलाई सलाम छ, जसले भारतबाट पेट्रोलियम पाइप लाइनको शुरुवात गर्नुभयो’, संसदमा पाख्रिनले भनिन, ‘तर, लामोसाँघु–जिरीको सडक निर्माण नगर्ने ठेकेदारलाई कारबाहीको माग गर्दछु ।’ उनले हिउँदमा धुलाम्मे र वर्षामा हिलैहिलो तथा खाल्डाखुल्डी भएको सडक ४ घण्टाको बाटो भए पनि हाल १० घण्टा लाग्ने गरेकाले यात्रुहरूको यात्रा कष्टकर हुँदै आएको गुनासो गरिन् ।

नाका खोल्न माग
यसैबीच, कांग्रेस सांसद सञ्जय गौतमले २०६६ साल कात्तिक १० गते सम्पन्न नेपाल–भारत वाणिज्य सन्धिअनुसार गुलरिया–मुर्तिया नाका पारस्परिक व्यापारका लागि तत्काल सञ्चालन गर्ने मञ्जुरी भए पनि कार्यान्वयन नगरेकोमा सरकारको ध्यानाकर्षण गराए ।

‘त्यो सहमति भएको ९ वर्ष १० महिना भए पनि यसबीचमा नेपालका प्रधानमन्त्रीहरूले धेरै पटक भारतको औपचारिक भ्रमण गर्दा कार्यान्वयनको विषयमा चासो दिइएन’, सांसद गौतमले भने, ‘भारतका प्रधानमन्त्रीको नेपालको भ्रमण भएको बेलामा समेत नाका सञ्चालन गर्न किन सहमति गरिएन ?’

गौतमले दुवै देशका सरकार प्रमुखबीच भएका अनेकौं बैठक, छलफल र भेटाघाटमा नाका सञ्चालन गर्न नसक्नु दुःखद पक्ष भएको बताए । उनले भने, ‘सरकार के गर्दैछ ? नाका किन सञ्चालन हुन सकेन ?’

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद बिमला विश्वकर्माले भदौ १७ गते टिमुरे प्रहरी चौकी रसुवामा प्रहरीका असई र हवल्दारले सवारीचालक आर्थिक तामाङलाई कुटपिट र यातना दिएकाले दोषी प्रहरीलाई कारबाहीको माग गरिन् । सांसद सत्यनारायण खनालले संविधानमा शिक्षा निःशुल्क भनिए पनि सार्वजनिक स्कुलले अंग्रेजी पढाउने शिक्षक वाहिरबाट राख्नुपर्ने भएकाले सरकारी शिक्षा पनि महँगो भएको बताए ।

सांसद सरलाकुमारी यादवले मेलम्चीको पानी ०७५ सालभित्र काठमाडौंमा ल्याउने भनिएकोमा ठेकेदार कम्पनीले अलपत्र छोडेर गएकाले काम चाँडो गराउन ध्यानाकर्षण गराइन् । सांसद सर्वत आरा खानमले वीरगञ्जकी विद्यार्थी मुस्कान खानलाई एसिड आक्रमण गर्ने दोषीलाई कारबाहीको माग गरिन् ।

Featured