देश

इँटा उद्योगबाट हरेक साता ३० करोड रूपैयाँ भुक्तानी

विराटनगर, भदौ २५–नेपालका इँटा उद्योगीहरुले प्रत्येक साता ३० करोड रूपैयाँ ग्रामीण क्षेत्रका कामदारलाई भुक्तानी गर्ने गरेको बुधबार यहाँ आयोजित कार्यक्रममा बताइएको छ । कोसी अञ्चल इँटा उद्योग व्यवसायी संघको नवौँ साधारणसभामा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले विदेशी कामदार न्यूनीकरण गरी स्वदेशी कामदारलाई दक्ष बनाई रोजगार उपलब्ध गराउनुपर्ने बताए । उनले ग्रामीण क्षेत्रमा गरिबी निवारणमा ठूलो भूमिका निर्वाह गरेका उद्यमीहरुले इँटाको तौल घटाई गुणस्तरीय उत्पादन गर्नुपर्नेमा जोड दिए ।

मन्त्री कार्कीले पानी र असिनाबाट उद्योगीहरुलाई हुने क्षति न्यूनीकरण गर्न कानुनी, व्यवस्थापकीय लगायतका अन्य सहयोग गर्न सरकार तयार रहेको धारणा व्यक्त गरे । प्रदेशसभा सदस्य जयराम यादवले उद्यमीले जनस्वास्थ्यमा क्षति नर्पुयाउन स्वदेशी तथा विदेशी उपकरण प्रयोग गर्न अनुदानलगायत भन्सार छुट उपलब्ध गराउन सहयोग गर्ने बताए ।

संघका अध्यक्ष महेन्द्रप्रसाद साह, महासचिव अरुण प्रधान, नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष बन्धु पोखरेललगायतले नेपाल इँटामा आत्मनिर्भर रहेको जानकारी दिए । इँटा उद्योगले नेपालको कुल गार्हस्थ्य उत्पादनमा दुई प्रतिशत योगदान दिएको छ । नेपाल सरकारमा दर्ता भएका १ हजार ४ सय र संघमा दर्ता भएका एक हजार इँट्टा उद्योग विभिन्न जिल्लामा सञ्चालनमा रहेका छन् । संघले बुधबारै सहमतिका आधारमा नेतृत्व चयन गर्ने छ । (रासस)

Featured