देश

शून्य समयमा डेंगुदेखि बाघ आतंकसम्म

काठमाडौ, भदौ २५–इन्द्रजात्राका लागि खडा भएको अक्षयकोष, पशुपतिको भेटीको चुहावट, डेंगु रोग, शिक्षा क्षेत्रमा देखिएको बेथिति, डोल्पो महोत्सव, मेलम्ची खानेपानी, गौहत्या, गोर्खामा भएको बाघभालु आतंकको विषयले सदनमा प्रवेश पाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद बिनाकुमारी श्रेष्ठले काठमाडौं उपत्यकामा मनाइने महत्वपूर्ण जात्रा इन्द्रजात्रा सञ्चालनका लागि सरकारले पाँच करोडको अक्षयकोष स्थापना गरेको जानकारी गराउँदै त्यसका लागि सरकारलाई बधाई ज्ञापन गरिन् ।

सांसद सुचिता शाक्यले पशुपतिको भेटी चुहावट भएर विदेश पुगेको कुरा सुनिन आएको हुँदा भेटीको पारदर्शिता कायम गर्न र हुन सक्ने चुहावट रोक्न निगरानी गर्न पशुपतिमा स्क्यानिङ मेसिनको व्यवस्था गर्न माग गरिन् । सांसद बिनादेवी बुढाथोकीले निकै छिटो गतिमा डेंगु रोग फैलिएकामा जनता निकै आत्तिएका हुँदा यसको प्रभावकारी नियन्त्रणका लागि सरकारबाट ठोस कदम चालियोस् भनिन् ।

सांसद सुजाता परियारले मुलुकमा अहिले धेरै ठाउँमा डेंगु फैलिएको हुँदा सहज रुपमा परीक्षण र उपचार सबै ठाउँमा गर्ने व्यवस्था मिलाउन सरकारलाई सुझाव दिइन् । सांसद लालकाजी गुरुङले संघीय संसद्का सबै सांसदको भूमिका र जिम्मेवारी एकै भए पनि प्रत्यक्ष निर्वा्चित सांसदलाई सरकारले छ करोड रूपैयाँ उपलब्ध गराए पनि समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वा्चित भएका सांसदलाई निम्छरा सम्झेर होला छ पैसा पनि रकम नछुट्याइएको भनी गुनासो गरे ।

सांसद विमला विश्वकर्माले रसुवाको केरुङ नाकामा केही दिनअघि प्रहरीको कुटाइबाट चालक आशिष तामाङ गम्भीर घाइते भएको हुनाले त्यस्तो ज्यादती गर्ने सुरक्षाकर्मीमाथि हदैसम्मको कारबाही गर्न माग गरे । सांसद शान्तिमाया तामाङले अत्यावश्यक दैनिक खाद्य पदार्थमा दसैं र तिहारका बेला हुने मूल्यवृद्धि रोक्न सुपथ मूल्यका पसल देशभर नै सञ्चालन गरेको र पेट्रोलको मूल्य घटाउने काम भएकामा सरकारको प्रशंसा गर्दै अब यातायातलाई सहज तुल्याउने र समयमा पूर्वाधारको काम सम्पन्न गर्नेतर्फ सबैको ध्यान जानुपर्छ भनिन् ।

सांसद सत्यनारायण खनालले मुलुकको सरकारी विद्यालयबाट प्रदान गरिने शिक्षाको अवस्था भद्रगोल रहेको हुँदा शिक्षकलाई तालिम दिएर सुधार्नेतर्फ सरकारले गम्भीरतापूर्वक सोच्न आवश्यक छ भने ।सांसद सत्य पहाडीले विश्वकै अग्लो मानव बस्तीका रुपमा रहेको डोल्पाको डोल्पोमा भइरहेको महोत्सवको सफलताको कामना गर्दै शान्ति सम्झौताको मर्म र भावनाअनुसार मुलुकमा संक्रमणकाल अन्त्य भएको सन्देश दिने काम गर्न सरकार र राजनीतिक दललाई सुझाव दिए ।

सांसद सरलाकुमारी यादवले पाँच वर्षदेखि दसैंमा काठमाडौँवासीलाई मेलम्चीको पानी खान पाउने भनी आश देखाए पनि अहिले आएर आयोजना अनिश्चित रहेको खबर सुन्नुपर्दा नरमाइलो लागेको भनी गुनासो गरिन् ।सांसद सरवत आरा खानमले विद्यालय हिँडेकी छात्रामाथि भएको एसिड प्रहार र राष्ट्रिय जनावर गौहत्याका घटनाले सारा नेपालीको मनमा चोट परेको बताइन् ।

सांसद सञ्जयकुमार गौतमले नेपाल र भारतबीच लामो समयदेखि गुलरिया नाका सञ्चालन गर्ने भनी सहमति भए पनि आजसम्म किन सञ्चालन हुन सकेन भनी प्रश्न गरे । सांसद हरिलाल अधिकारीले गोर्खामा बाघ भालुको आक्रमणबाट धेरै सर्वसाधारण घाइते भएकाले त्यसलाई नियन्त्रण गर्ने उपायको खोजी गर्न माग गर्दै सामाजिक सञ्जालको दुरुपयोग रोक्नेतर्फ पनि सरकारको ध्यान पुगोस् भने । सांसद ज्ञानकुमारी छन्त्यालले ८ सय मेघावाट क्षमताको उत्तर गंगा विद्युत् आयोजना छिटो निर्माण सञ्चालनमा सरकारलाई सुझाव दिइन् । (रासस)

Featured