देश

बेनी–जोमसोम सडक खण्ड अवरुद्ध

काठमाडौं, भदौ २५-हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आइतबारदेखि अवरुद्ध भएर मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन हुनसकेका छैनन्।

बेनी–जोमसोम सडकमा चार दिनदेखि सवारी अवरुद्ध बनेको छ।  कालिगण्डकी नदीको कटानले क्षति पुगेपछि उक्त सडक अवरुद्ध भएको हो।

पहिराले सडकको करीब १० मिटर आधार नै भत्काएकाले भिरमा विष्फोटक पदार्थको प्रयोग गरी नयाँ ट्र्याक निर्माणको तयारी गरिएको छ।

डोजरको सहायताले मात्रै ट्र्याक निर्माण नभएपछि विस्फोटक पदार्थको प्रयोगले भिर फुटाउने तयारी गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रमान शेरचनले जानकारी दिए।

उनका अनुसार भत्किएको सडक मर्मतको काम भइरहेको छ। यात्रुले बीच सडकमा सवारी परिवर्तन गर्नुपर्ने बाध्यता छ। मुस्ताङ भ्रमणमा गएका र जाने पर्यटक, तीर्थयात्री र सर्वसाधारणलाई सास्ती भएको छ।

Featured