देश सूचना/ प्रबिधि

एनसेलको आयमा झण्डै ६ प्रतिशतले गिरावट

काठमाडौँ, भदौ २५-लामो समयदेखि लाभकर विवादमा तानिएको एनसेललको आय २०१९ को पहिलो ६ महिनामा भण्डै ६ प्रतिशतले घटेको छ।

एनसेलको माउ कम्पनी आजियाटाका अनुसार, गत आर्थिक वर्षबाट लगाईएको दूरसञ्चार सेवा शुल्क र अन्तर्राष्ट्रिय आगमन कलबाट हुने आम्दानीमा भएको कमीले गर्दा एनसेलको कुल आयमा असर गरेको हो।

आजियाटाले आफु अन्तर्गतका कम्पनीहरुको पहिलो ६ महिनाको आर्थिक विवरण गत साता सार्वजनिक गरेको थियो। उक्त प्रतिवेदन अनुसार, २०१८ को ६ महिना (जनवरी देखि जुन) को अवधिको तुलनामा २०१९ को ६ महिनामा एनसेलको आम्दानी ५.७ प्रतिशतले घटेको छ भने मोवाइल सेवा अर्थात कोर मोवाइल रेभिन्युमा ३.२ प्रतिशतको गिरावट भएको छ।

त्यसैगरी सो अवधिमा एनसेलको अन्तर्राष्ट्रिय आगमन कलबाट हुने आयमा पनि १३.७ प्रतिशतले गिरावट आएको छ। भ्वाइस सेवा र अन्तर्राष्ट्रिय आगमन कल टेलिकम कम्पनीहरुको आयको प्रमुख स्रोत हो। विभिन्न माध्यमहरुको उपलब्धता र प्रविधिमा आएको परिवर्तनले गर्दा विश्वव्यापी रुपमा नै दूरसञ्चार सेवा प्रदायकहरुको भ्वाइस र अन्तर्राष्ट्रिय आगमन कलको आय घट्दो क्रममा रहेको छ।

एनसेलको कुल आयमा गिरावट आएता पनि कम्पनीको डाटा सेवाको प्रयोग भने आक्रामक रुपमा बढेको देखिएको छ। कुल ग्राहक संख्यामा ४८.४ प्रतिशत एनसेल ग्राहकले डाटा सेवा लिएका छन् भने यो सेवाबाट हुने आम्दानीको कुल आयमा २२ प्रतिशतको योगदान रहेको प्रतिवेदनले देखाएको छ। कम्पनीको प्रति ग्राहक प्रति महिना डाटा खपत औषतमा ८९१ एमबि रहेको छ।

Featured