देश

संविधानको विरोध गर्नेहरु संघीयता पक्षधर हुन सक्दैनन् : निधी

जनकपुर, भदौ २५–नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले संविधानको विरोध गर्नेहरु संघीयता पक्षधर हुनै नसक्ने बताएका छन् । ‘उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी सरकारमा छ, तर उसले संशोधनको कुरा गर्न सकेको छैन,’ उपसभापति निधिले भने, ‘पार्टीकै नामबाट मधेश शब्द हटाइसकेकाले संविधानको विरोध गरेर मधेशी जनतालाई झुक्याउने काम गरिरहेको छ ।’

दोस्रो चरणको नेपाली कांग्रेसको राष्ट्रिय जागरण कार्यक्रमको अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै उपसभापति निधीले पार्टीलाई सुदृढ बनाउन व्यक्ति नभएर नीतिको पछाडि लाग्न कार्यकर्ताहरुसँग आग्रह गरेका छन् । नीतिलाई अवलम्बन गरेर अगाडि बढे पार्टी्भिभत्र रहेको गुटउपगुटको समस्यासमेत नरहने निधीको तर्क छ । नेपाली कांग्रेसभित्र गुटउपगुट र अन्तर्घातको ठूलो रोग रहेको उनको भनाई थियो ।

‘पार्टी्भित्र गुटउपगुट र अन्तर्घातको समस्या ठूलो रोगको रुपमा देखा परेको छ,’ निधीले भने, ‘गुटउपगुट अन्त्य गर्न नीति र अन्तर्घात अन्त्य गर्न पार्टीप्रति प्रतिबद्ध हुनुको विकल्प छैन ।’अन्तर्घातकै कारण पछिल्लो निर्वाचनमा पार्टीलाई पराजय भोग्नुपरेको स्मरण गराउँदै उनले आगामी दिनमा कांग्रेसलाई बलियो बनाउन गुटउपगुट र अन्तर्घातको राजनीति त्याग्नुपर्ने बताए ।

नेता कार्यकर्ताबीच आपसी सम्बाद साथै मतदाता र युवाहरुसँग सम्पर्क, सम्बाद र सक्रियता बढाउनु दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रमको प्रमुख उद्देश्य रहेको उनले बताए । पहिलो चरणको जागरण कार्यक्रम पूर्ण सफल रहेको दाबी गर्दै निधीले दोस्रो चरण अन्तर्गत सामाजिक विसंगति, सरकारको गलत क्रियाकलापबारे आमनागरिकसँग सम्वाद गर्न कार्यकर्ताहरुलाई निर्देशनसमेत दिएका छन् ।

नेपाली कांग्रेसकै नेतृत्वमा संविधान जारी जारी भएको भन्दै उनले असोज ३ गते भव्यताका साथ संविधान दिवस मनाउन पनि आग्रह गरे । संविधानमा रहेका त्रुटिहरु संशोधन गर्न आफूहरु प्रतिवद्ध रहेको समेत बताए । संविधान संशोधनको विरोध गर्नेमा सबैभन्दा अगाडि नेकपा रहेको उनको आरोप छ । सरकारले संविधानको भावनाविपरित विधेयकहरु ल्याउन लागेको भन्दै निधीले नागरिकतासम्बन्धी कानुनमा समेत सरकारको बेइमानी देखिएको आरोप लगाए ।

अंगीकृत वैवाहिक नागरिकतासम्बन्धी पुरानो व्यवस्थामा कुनै हेरफेर गरिए आफूहरुलाई मान्य नहुने बताउँदै उनले जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने बताए । प्रदेश क्षेत्र कार्यसमितिका सभापति शिवजी रायको सभापतित्वमा वृक्षारोपण गरी सम्पन्न भएको कार्यक्रममा केन्द्रीय प्रतिनिधि हरेश महतो, शेख लालबाबु, कांग्रेसका धनुषा सभापति महेशशंकर गिरीलगायतले बोलेका थिए । वीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर सुरु भएको दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रमअन्तर्गत कांग्रेसले हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा न्यूनतम १०६ वटा विरुवा रोपेको छ ।

Featured