देश

भ्रष्टाचारमा शून्य सहनशीलताको बाटोमा सेना

काठमाडौं, भदौ २५–नेपाली सेनालाई भ्रष्टाचार मुक्त र संगठनलाई अझै विश्वसनीय बनाउन भन्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक इतिहासमै पहिलोपटक सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानसेनापति थापाले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार जंगीअड्डाबाट सकल दर्जालाई सम्बोधन गर्दै नेपाली सेनाको वेबसाइटमार्फत सम्पत्ति सार्वजनिक गरेको घोषणा गरेका हुन् ।

‘मैले आजैका मितिमा वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेको छु, सेनाभित्र सुधार र परिवर्तन ल्याउन यो कदम चालिएको हो,’ प्रधानसेनापति थापाले सम्बोधनका क्रममा भने । प्रधानसेनापति भएलगत्तै सेनाभित्रका विकृति सुधार गर्ने योजनाअनुसार ‘प्रधानसेनापति मार्ग निर्देशन कमान्ड २०७५’ लागू गरेका थापाले सेनाभित्रको क्यान्सरलाई आफ्नो कार्यकालमा निको पारेरै छाड्ने प्रतिबद्धतासमेत जनाए ।

‘सेनाप्रति आमनागरिकको विश्वास र भरोसा छ, मैले त्यो भरोसालाई अझ उच्च बनाउन आफ्नो कार्यकालमा सेनाभित्रको क्यान्सरलाई निको पारेर त्यो लक्ष्य पूरा गरेर निस्कन्छु,’ प्रधानसेनापति थापाले भने । थापाले सेनामा आबद्ध अधिकृत तथा रथीवृन्दहरूले समेत आफूले चाहेमा सम्पत्ति विवरण सार्वजनिक गर्न सक्ने जनाए । थापाले सेनाभित्र भ्रष्टाचार छानबिन नहुने अनियमितता हुन्छ भन्ने आरोप लाग्ने गरेकाले त्यस्ता आरोप लाग्न नदिन अब छानबिनको सुरुवात हुने जनाए । यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

Featured