देश

’एनसेलबारे फैसला गर्ने न्यायाधिशलाई महाअभियोग लगाउनुपर्छ’

काठमाडौं, भदौ २४–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद मोहन बानियाँले एनसेलबारे फैसला गर्ने न्यायाधीशमाथि महाअभियोग प्रस्ताव पास गर्न सरकारसँग माग गरेका छन् । मंगलबारको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद बानियाँले एनसेलको पुँजीगत लाभकर छुट हुने गरी फैसला गर्ने न्यायाधीशमाथि महाअभियोग प्रस्ताव पास गर्नुपर्ने बताए । न्याय क्षेत्रले धेरै पटक आफ्नो क्षेत्राधिकार मिचिसकेको उनको आरोप छ ।

एनसेलको अराबौँ रुपैँया घोटाला भएको उल्लेख गर्दै उनले भने, ‘हामीले न्याय क्षेत्रलाई आस्था र विश्वासको धरोहर मान्दै आएका छौँ । तर, दुर्भाग्यवश नेपालमा धेरैपटक न्याय क्षेत्रले आफ्नो क्षेत्राधिकार मिचिसकेको छ । आफैँ रक्षक भएर भक्षक भइरहेको अवस्था छ । महाअभियोगको प्रस्ताव ल्याउने किन नल्याउने ? यो ल्याउनैपर्छ ।’

एनसेलको पुँजीगत लाभकरसँग सम्बन्धित विषयमा भदौ ९ गते फैसला गर्दै सर्वोच्च अदालतले जरिवाना मिनाहा हुने गरी फैसला गरेको थियो । सर्वोच्चको बृहत पूर्ण इजलासले ठूला करदाता कार्यालयले आयकर ऐनको दफा १२० (क) अनुसार निर्धारण गरेको कर खारेज गर्ने फैसला गरेको थियो । सर्वोच्चको बृहत पूर्ण इजलासले एनसेललाई लाभकर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ निर्धारण गर्दै एक हप्ताभित्र बुझाउन पत्रचार गर्ने ठूला करदाता कार्यालयको पत्र खारेज गरेको हो ।

Featured