देश

कहाँ कहाँ बन्दैछन् नेपाल प्रहरीका ३ वटा भवन

काठमाडौं, भदौ २४–प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले मंगलबार शिलान्यास गरेका नेपाल प्रहरीका लागि बन्ने तीनवटा सुन्दर भवनहरू आगामी २ वर्ष्भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आईजीपी खनालका अनुसार महानगरीय अपराध महाशाखाका लागि नेपाल सरकारबाट प्राप्त टेकुस्थित ९ रोपनी जग्गामा नयाँ भवन निर्माण हुन लागेको छ ।

त्यसैगरी, महानगरीय प्रहरी परिसर काठमाडौंका लागि भद्रकालीको १५ रोपनी जग्गामा नयाँ भवन निर्माण हुनेछ । त्यस्तै, नेपाल पुलिस क्लबका लागि बहुउद्देश्यीय नयाँ भवन सोही क्लबको २६ रोपनी जग्गामा बन्न लागेको छ । आईजीपी खनालले भने, ‘अब बन्ने सुन्दर भवनबाट प्रहरीले सेवालाई थप परिस्कृत गर्दै त्यहीअनुरुपको काम गर्नेछ । नयाँ उर्जा, निष्ठा एवम् इमानदारिताका साथ सुन्दर सेवा प्रवाह गर्न प्रहरी सदैव कटिबद्ध हुनेछ ।’

भवन निर्माणका क्रममा कुनै पनि किसिमको अनियमितता सह्य नहुने बताउँदै उनले तोकिएको समयमै गुणस्तरीय भवन निर्माण सम्पन्न गर्नेतर्फ अग्रसर हुन निर्माणमा संलग्न सबैलाई निर्देशन दिए ।

Featured