देश

नेपाल नादेझ्दा कपको फाइनलमा

काठमाडौं, भदौ २४–नेपाल १–० ले विजयी हुँदै नादेझ्दा कपको फाइनलमा प्रवेश गरेको छ । किर्गीस्तानमा जारी प्रतियोगिताको अन्तिम लिग खेलमा नेपालले ताजकिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । नेपालका लागि सावित्रा भण्डारीले खेल सकिन लाग्दा गोल गरेकी थिइन् । ८५औं मिनेटमा पाएको फ्रिकीकमा आकर्षक हेडरमार्फत गोल गर्दै सावित्राले नेपाललाई फाइनलसम्म र्पुयाएकी थिइन् ।

काराकोलस्थित सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपालले एकपक्षीय कब्जा गरेपनि गोल गर्न भने सकेको थिएन । अनेकन प्रयासका बावजुद पहिलो हाफ बराबरीमा सकिएपछि दोस्रो हाफको पनि अन्त्यतिर मात्र गोल सम्भव भएको थियो । यसअघि पहिलो खेलमा नेपालले आयोजक किर्गीस्तानलाई ८–२ ले पराजित गरेको थियो भने दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो ।

फाइनलमा नेपालले उज्वेकिस्तानको सामना गर्ने छ । सबै खेलमा जित निकाल्दै फाइनल पुगेको उज्वेकिस्तान सुरुबाटै प्रतियोगिताको बलियो दाबेदार थियो । नेपाल उज्वेकिस्तानविरुद्ध लिग चरणको हारको बदला फाइनलमा लिँदै उपाधि जित्ने दाउमा रहनेछ ।

Featured