देश

सञ्चालनमा आएन ९ स्थानीय तहलाई जोड्ने अन्तरपालिका चक्रपथ

बुटवल, भदौ २४–गाउँ र सहरबीचको सम्बन्ध जोड्ने परिकल्पना गरिएको अन्तरपालिका यातायात स्थानीय तहको समन्वयको अभावमा अझै सञ्चालनमा आउन सकेको छैन । जनप्रतिनिधि निर्वा्चित भएपछि महत्वकांक्षी योजनाको रुपमा रुपन्देहीका ९ वटा स्थानीय तह जोड्ने गरी अन्तरपालिका यातायात सेवा सुरु गर्ने परिकल्पना गरिएको थियो ।

यातायातको पहुँचबाट टाढा रहेका सेवाग्राही, विद्यार्थी, शिक्षक र कर्मचारीका लागि अन्तरपालिका सार्वजनिक यातायात सुरु भए पछि आपसमा जोडिन सहयोग पुग्ने विश्वास लिइएको थियो । ‘हामी एक पटक सबै तहका प्रतिनिधि बसेर पनि छलफल र्गयौ । तर पछि थप समन्वय भने भएको छैन । पूर्वाधार बिना यातायात सञ्चालन गर्दा पनि अप्ठयारो हुने भएकाले केही ढिलाई भएको हो,’ सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीले भने ।

नौ वटा स्थानीय तह जोडिने भन्दै यसका लागि नौ वटै तह सम्मिलित एक समिति समेत बनेको छ । अन्तरपालिका यातायात सञ्जालमा बुटवल उपमहानगरपालिकासहित सैनामैना, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिका छन् । त्यस्तै गाउँ पालिकामा कञ्चन, गैडहवा, सियारी र मायादेवी गाउँपालिका छन् । सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत सेवा सञ्चालन हुने बताउँदै आएपनि अहिले यो योजना यतिकै रोकिएको छ ।

प्रारम्भिक तथ्यांकअनुसार अन्तरपालिका सडकको लम्बाइ ८० किलोमिटर हुनेछ । पश्चिममा सैनामैनाबाट सुरु भएको सडक कञ्चन, गैडहवा, सियारी हँुदै लुम्बिनी पुग्नेछ । लुम्बिनीबाट पुनः मायादेवी, सिद्धार्थनगर, तिलोत्तमा, बुटवल हुँदै पुनः सैनामैना जोडिनेछ । गोलाकार सडक रुपमा बन्ने यो सडकको नाम अन्तरपालिका रिङरोड राखिएको छ । त्यस मध्ये झन्डै ९५ प्रतिशत सडक पहिल्यै बनिसकेको छ । बाँकी आ–आफ्नो क्षेत्रमा पर्ने सडक स्थानीय तह आफैंले निर्माण गर्नेछन् ।

‘कतिपयले स्थानीय तहले यसको काम गरेका छैनन तर सबैले बजार, स्टेशन, सभाहल जस्ता योजना आफ्नैमा पार्न खोज्दा यसमा समस्या आएको हो’ समितिका सयोजक समेत रहेका कार्कीले भने । यो सडक आन्तरिक पर्यटकलाई लुम्बिनी र्पुयाउन र लुम्बिनी आएका पर्यटकलाई यहाँका पर्यटकीय क्षेत्रमा ल्याउन पनि धेरै उपयोग हुन अपेक्षा गरिएको छ ।

‘हामीले यो बनाउन सकेको भए लुम्बिनीमा आउने पर्यटकलाई अन्य स्थानीय तहका महत्वपूर्ण पर्यटकीय स्थानहरुमा समेत घुमाउन सकिन्थ्यो । तर ढिला भएको छ, छलफल पनि हुँदै छ,’ तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले भने । पहिलो चरणमा धेरै सिट क्षमताका ४८ वटा वातानुकूलित बस सञ्चालन गर्ने योजना छ । अन्तरपालिका यातायात सञ्चालनलाई पर्यटन, प्रवद्र्धन र कृषि उपजको बजारीकरणसँग समेत जोडिएको छ ।

सैनामैना नगरपालिकाबाट सुरु भएको अन्तरपालिका सडक सञ्जाल सुरुमा आसपासका दुई–तीन स्थानीय तहमा पु¥याउनेबारे छलफल भएको थियो  । विज्ञहरूले बुद्ध जन्मस्थल लुम्बिनीलाई जोडेर सडक सञ्जाल बनाउन सकिने सुझाव दिएपछि यो नौ तहमा पुगेको हो ।

Featured