देश

मकै सखाप पार्ने फौजी किरा तरकारीमा

ओखलढुंगा, भदौ २४–ओखलढुंगाका विभिन्न गाउँमा फैलिएको अमेरिकी फौजी किरा नियन्त्रण बाहिर गएको छ। कृषि ज्ञान केन्द्रले विषादी वितरण गरेपछि नियन्त्रणमा आएको दाबी गरिए पनि औषधिले काम नगरेको किसानको गुनासो छ। ‘मकै सकेपछि बोडी, मासका मुना र कोसा खान थालेको छ,’ चिसंखुगढी ६ भदौरेका किसान भीमबहादुर थापा मगरले भने, ‘औषधि छिट्दा छुँदै छोएन, औषधिमा टिपेर हाल्दा पनि मर्दैन रहेछ, त्यो कस्तो औषधि हो रु ’

मानेभञ्ज्याङको थाक्लेबाट भदौ लाग्दालाग्दै सुरु भएको किराको प्रकोप अहिले चिसंखुगढी गाउँपालिका–६ भदौरे, सिद्धिचरण नगरपालिका वडा नम्बर १ र १० तथा सुनकोसीको वडा नम्बर १, २, ३, र ४ सम्म पुगेको छ। यस क्षेत्रमा खडेरीले बर्खे मकै मरेपछि किसानले हिउँदे मकै लगाएका थिए। हिउँदे मकै लगाएको सबै क्षेत्रमा किरा पुगेको सुनकोसी गाउँपालिका–४ सिस्नेरीका स्थानीय नवराज खड्काले बताए।

खड्काका अनुसार औषधिले किरालाई कुनै असर गरेको छैन, झन् दैनिक बढ्दै गएको छ। उनले भने, ‘औषधि त पाइयो तर कामै गरेन, स्थानीय सरकार र कृषि ज्ञान केन्द्रले विकल्प खोज्नुपर्छ।’ यो समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

Featured