देश

१ हजार ३५७ विदेशी अपराधी फरार

काठमाडौं, भदौ २४–नेपालमा अपराध गरेर फरार विदेशी नागरिकको संख्या १ हजार ३५७ पुगेको छ । यसरी फरार हुने सूचीमा भारत, चीनसहित ४१ मुलुकका नागरिक रहेको सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले देखाएको छ । अदालतबाट दोषी ठहर भएका फरार विदेशी अपराधीको कैद र दण्ड जरिमाना पनि असुलउपर हुन सकेको छैन ।

२०१९ सालयता नेपालमा अपराध गरेर फरार हुने विदेशीको संख्या बृद्धि भएको देखिन्छ । नेपाललाई अपराधको ट्रान्जिट प्वाइन्ट बनाउने विदेशी अपराधीको संख्या बढिरहेको फैसला कार्यान्वयन निर्देशनालयको तथ्यांकले देखाएको छ । विदेशी अपराधी फरार हुँदा राज्यले उठाउनुपर्ने ५ अर्ब रुपैयाँ बढी जरिमाना समेत संकटमा परेको छ ।

फैसला निर्देशनालयको तथ्यांकअनुसार कैद तथा भुक्तान असुल गर्नुपर्ने विदेशी अपराधी सबैभन्दा धेरै झापामा २४२ जना छन् । चितवनबाट ६५ भारतीय अपराधी फरार छन् । तीमध्ये अधिकांश जबर्जस्ती करणी, लागूऔषध र चोरीको घटनामा संलग्न छन् । अपराध गरी फरार हुनेमा नेपाल घुम्न आउनेदेखि विभिन्न कम्पनीमा आबद्ध रहेर घोटाला गर्नेसम्मका छन् ।

गत ६ असारमा तीनजना रोमिनियन नागरिकसँग मिली नक्कली एटीएम कार्ड प्रयोग गरेर २० लाख रुपैयाँ बढी चोरी गरेको आरोपमा प्रहरीले काठमाडौं शंखमूलका राजकुमार पाण्डेलाई पक्राउ परे पनि रोमिनियन नागरिक भने फरार छन् । आर्थिक वर्ष २०७४र७५ मा ७०८लाई प्रहरीले प्रक्राउ गरी मुद्दा चलाएको थियो । २०७३र७४ मा ५१९ लाई, २०७२र७३ मा ४४९ र २०७१र७२ मा ४७१ विदेशीलाई प्रहरीले विभिन्न अपराधमा पक्राउ गरी मुद्दा चलाएको थियो । हरेक वर्ष नेपालमा पक्राउ पर्ने विदेशीको संख्या बढिरहेको तथ्यांकले देखाउँछ । पक्राउ पर्ने र मुद्दा दर्ता हुने क्रमसँगै अपराध गरेर फरार हुने विदेशीको संख्या पनि बर्से्नि बढिरहेको छ । यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

Featured