विदेश

फ्रान्समा अत्यधिक गर्मीः २ महिनामा १५ सयको मृत्यु

एजेन्सी, भदौ २४–फ्रान्समा अत्यधिक गर्मीका कारण पछिल्लो दुई महिनामा १ हजार ५ सयको मृत्यु भएको छ । उखरमाउलो गर्मीका कारण गत जुनदेखि जुलाई सम्ममा १ हजार ४३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्यमन्त्री यानएस बुएजाले मृत्यु हुनेमध्ये आधा ७५ वर्षभन्दा बढी उमेरमा वृद्धवृद्धा रहेको जानकारी दिएकी छन् ।

समयमै सावधानी अपनाउँदा सन् २००३ मा युरोपमा देखा परेको चरम गर्मीको तुलनामा मृत्युदर १० गुणा कम रहेको बुएजाले बताइन् । गत जुनमा फ्रान्समा अहिलेसम्मकै सबैभन्दा उच्च तापमान ४६ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो भने जुलाईमा राजधानी पेरिसमा ४२.६ डिग्री सेल्सियस तापमान पुगेको थियो।

गर्मीका कारण ५६७ जनाको २४ जुनदेखि ७ जुलाईका बीचमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । थप ८६८ जनाको २१ जुलाई देखि २७ को बिचमा मृत्युमा भएको बताइएको छ। १० जनाको मृत्यु कार्यस्थलमा भएको बताइएको छ। गर्मी मौसमका बेला फ्रान्सका विभिन्न सहरमा रेड अलर्ट जारी गरिएको थियो भने गर्मीबाट बच्न धेरै विद्यालय बन्द गर्नेदेखि लिएर सार्वजनिक सभा समारोहमा रोक लगाइएको थियो। बेलायत, बेल्जियम, जर्मन, लक्जम्बर्ग र नेदरल्याणड लगायतका मुलुकमा पनि हालसम्मकै सर्वा्धिक गर्मी समय रेकर्ड गरिएको बताइएको छ। यद्यपि अन्य देशमा गर्मीका कारण मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छैन ।

Featured