देश

प्रदेश २ का ६ जिल्लामा नेकपाको शपथ रोकियो

जनकपुर, भदौ २५–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ को आज भनिएको ६ जिल्लाको शपथ ग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ । महोत्तरीको बर्दिवासमा सपथको सम्पूर्ण तयारी पूरा भइसकेको बेला स्थगित भएको नेकपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले जानकारी दिए ।

नेकपा प्रदेश कमिटी इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलले बलजफ्ती प्रदेशका ६ जिल्लाका विवादित जिल्ला कमिटीलाई मंगलबार महोत्तरीको बर्दिबासमा शपथ गराउने तयारी गरेपछि शपथ ग्रहण कार्यक्रम नै स्थगित गरिएको हो ।

६ जिल्ला कमिटीको शपथ ग्रहण गराउनका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेल जाने तयारी थियो । जिल्ला कमिटी गठन भएसँगै असन्तुष्ट पक्षधरहरुले शपथ ग्रहण कार्यक्रम बिथोल्ने गरी तयारी गरेकाले विवादलाई मध्यनजर गरी अन्तिम चरणमा आएर कार्यक्रम स्थगित भएको हो । जिल्ला कमिटीको चयनमा मनपरी भएको भन्दै विवाद चुलिएको छ । पटक–पटक जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रम तय हुँदै रोकिँदै आएको छ ।

महोत्तरीको बर्दिबासमा पूर्व्निधारित शपथ ग्रहणको कार्यक्रम तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको जिल्ला कमिटी एकीकरण प्रक्रियासँगै गठित जिल्ला कमिटीमा मनपरी भएको भन्दै नेता कार्यकर्ता असन्तुष्ट देखिएका छन् । मंगलबार बर्दिवासमा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही र रौतहट गरी ६ जिल्ला कमिटीको शपथ गराउने तयारी गरिएको भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको प्रदेश कमिटीले जनाएको छ ।

जिल्ला कमिटी गठन गर्दा धनुषामा साविकको एमाले र माओवादीबाट ७५÷७५ जना गरी १५० सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । धनुषामा साविकमा नेकपा माओवादी केन्द्रको ७५ सदस्यीय जिल्ला कमिटी र साविक नेकपा एमालेका ७५ जनाको जिल्ला कमिटी थियो । तर, नेकपाको जिल्ला कमिटी बनाउँदा साविकको माओवादी संगठनका सबै सदस्य राखिए पनि एमालेबाट ७५ जनामध्ये २२ जनालाई हटाएर नयाँ अनुहार राखेपछि धनुषा जिल्ला कमिटी विवादित भएको हो ।

एमालेको तत्कालीन जिल्ला कमिटीमा तल्लो निकायबाट चयन हुँदै अधिवेशनबाट निवार्चित भएका रामप्रवोध महतो, रामईश्वर कापर, राजकुमार मण्डल, राजकुमार यादव, शेष हसन, सुमित्रा आमात्य, पुरुषोत्तम लामा, भगवानदत्त साह, रामप्रसाद महतो, रामबाबु पुर्बे, केदार अधिकारी, रामचन्द्र सिंह, रामदयाल दास, शीला यादव, सुकेश मण्डल, विनोद पासवान, लक्ष्मेश्वर यादव, दिलिप दास, सुरेन्द्र साह, दूर्गाप्रसाद साह, मानबहादुर पौडेल र रिता भट्टराईको नाम हटाइएको छ ।

धनुषा नेकपाका नेता एवं भौतिक यातायात तथा पूर्वाधारमन्त्री रघुवीर महासेठको पहलमा पार्टीको संगठित सदस्यता नै नभएका दिपेन्द्र यादव, रामबाबु पंजियार, सुरेन्द्र भण्डारी, रामबाबु साह, मुन्नी दास, अनिल यादव, अनिता साह, भारती सिंह, महेन्द्र यादव, अजय यादव र सञ्जीव यादव, जोगो यादव, चन्दर यादव, राजु गुप्ता, उमेश साह, बाबुसाहेब यादव, लालजी साह, रामकुमार महतो, कौशिला यादव र सविन थापालाई जिल्ला सदस्यमा मनोनयन गरिएको एमालेका तत्कालीन जिल्ला सदस्य रामप्रमोद महताले जानारी दिए ।

Featured