देश

१७ महिनापछि खुल्यो २४५ यातायात समितिको बैंक खाता

काठमाडौं, भदौ २३–सरकारले बन्द गराएको यातायात व्यवसायी समितिको बैंक खाता खुल्ला गराएको छ । सार्वजनिक यातायातमा सिण्डिकेट लादेको भन्दै सरकारले बन्द गराएको व्यवसायीको बैंक खाता १७ महिनापछि खुल्ला भएको हो । गत १६ साउनमा मन्त्रिपरिषद बैठकले यातायात व्यवसायी समितिका बैंक खाता खुल्ला गर्ने निर्णय गरेको थियो । तर, यस्ता समितिहरु कम्पनीमा दर्ता भएपछि मात्रै त्यस्ता समितिको नाममा रहेको बैंक खाता स्वतः कम्पनीको नाममा संचालन हुने व्यवस्था मिलाइने सरकारको निर्णय छ ।

यस्तै, सरकारले व्यवसायी समितिको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति स्वतः कम्पनीको नाममा सर्ने व्यवस्था पनि मिलाएको छ । सरकारले यस्तो निर्णय गरेपछि नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गर्दै बैंक खाता खुल्ला गरिदिन निर्देशन दिएको हो । सरकारले सार्वजनिक यातायातमा सिण्डिकेट गरेको भन्दै प्रदेश १ मा रहेका ३२, प्रदेश २ मा रहेका १०, ३ मा रहेका ११८, गण्डकी प्रदेशमा २४, प्रदेश ५ मा रहेका ४०, कर्णाली प्रदेशमा रहेका १२ र सुदूरपश्चिम प्रदेशमा रहेका ९ गरी २ सय ४५ वटा समितिको बैंक खाता बन्द गराएको थियो ।

Featured