देश

तनहुँका जीपचालक आन्दोलित

पोखरा, भदौ २३–तनहुँ दुलेगौंडा क्षेत्रका जीप चालकहरू आन्दोलित भएका छन् । चालकहरूले जीपमा तोकिएभन्दा बढी संख्यामा राखिएका सिट ट्राफिक प्रहरीले निकाल्न लगाएपछि कानूनको धज्जी उडाउँदै आएका जीपचालकहरू आन्दोलनमा उत्रिएका हुन् । ट्राफिक प्रहरीले जीपमा चालकद्वारा थपिएका सिटहरू हटाउने अभियान थालेपछि जीप चालकहरूले विगतदेखि आफूहरूले थपेका सिट कायम हुनुपर्ने माग गर्दै चरणवद्ध आन्दोलन थालेका हुन् ।

यसै क्रममा उनीहरूले शुक्लागण्डकी नगरपालिका परिसरमा आफ्ना सवारी थुपारेर ट्राफिक प्रहरीको कानूनी कारवाही आफूहरूलाई मान्य नभएको भन्दै नगर प्रमुखसँग डेलिगेसनसमेत गएका छन् । ट्राफिक नियमविरूद्ध दुलेगौंडा हुँदै विभिन्न क्षेत्रमा चल्ने करिब ४ दर्जनको संख्यामा रहेका जीपका चालकहरू आन्दोलित भएका हुन् ।

दुलेगौंडाबाट दैनिक ७०र८० वटा भाडा तथा निजी सवारीसाधन तनहुँ र स्याङ्जाका विभिन्न स्थानमा आवतजावत गर्ने गर्दछन् । यसमध्य ५० भन्दा बढी जीप मात्रै छन् । जीपचालकहरूले शुक्ला गण्डकी नगरपालिकाका मेयर किसान गुरुङको कार्यकक्षमा पुगेर चालक र व्यवसायीहरूको समस्या बुझिदिन आग्रह गरेका थिए। मेयर गुरुङले कानूनविपरीतका कार्यलाई स्थानीय तहले प्रोत्साहन गर्न नसक्ने बताए । उनले चालक र व्यवसायीहरूलाई सम्बन्धित निकायबाट सिट क्षमता बढाउनतर्फ लाग्नुपर्ने बताए ।

इलाका प्रहरी कार्यालय बेलचौताराअन्तर्गत रहेको ट्राफिक पोष्टका प्रमुख ट्राफिक प्रहरी सहायक निरीक्षक प्यामनारायण पौडेलले सवारी ऐनविपरीत कार्य गर्ने सबैलाई कारबाही गरिने बताए । ‘सवारी ऐन नियमअनुसार कारबाही गरेका छौं,’ उनले भने, ‘ऐन नियमभित्र रहेर सबैले व्यवसाय गर्नुपर्छ ।’

उनका अनुसार ८ वटा जीपमा सिट संख्या थपिएकाले सिट निकालिएको छ । ती साधनहरूमा नियमविपरीत थपिएका छतसमेत निकालिएको छ । ‘अहिले करिब ७५ प्रतिशत जीपले तोकिएभन्दा बढी राखेका सिट आफैं निकालेका छन,’ उनले भने, ‘हामीले यातायात कार्यालयबाट जारी भएको बिलबुकमा उल्लेख भएको सिट संख्यालाई कार्यान्वयन गरेका हौं ।’

ट्राफिक प्रहरीले यस क्षेत्रमा भाडा र निजी सवारीसाधनमाथि पछिल्लो समयमा निगरानी बढाएको छ । ढोरफिर्दी हुँदै तनहुँ र स्याङ्जाका विभिन्न क्षेत्रमा यात्रुहरू छतमा बस्ने गरेको र क्षमताभन्दा बढी यात्रु राखेर तीव्र गतिमा जीप चलाएका कारण सवारी दुर्घटनाको जोखिम बढेपछि कारबाही गरिएको ट्राफिक प्रहरी सहायक निरीक्षक पौडेलले जानकारी दिए ।

Featured