देश

नेपाल र आइरिसका सभामुखवीच भेटवार्ता

काठमाडौं, भदौ २३–सभामुख कृष्णबहादुर महरा र आयरल्याण्डस्थित आइरिस पार्लियामेन्टका सभामुख सेन ओ फेरगेलबीच द्विपक्षीय भेटवार्ता भएको छ । सभामुख महराको निमन्त्रणामा नेपाल भ्रमणमा आएका समकक्षी आइरिस सभामुख सेनसँग आज (सोमबार) सभामुखको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

भेटवार्तामा दुई देशबीचको सम्बन्धका बारेमा चर्चा गर्नुका साथै संसदीय प्रक्रिया र अभ्यास, संसदीय मैत्री समूह गठन, शिक्षा, पर्यटन, व्यापार लगायतका विषयमा छलफल भएको थियो । सो अवसरमा सभामुख महराले नेपाल र आयरल्याण्डको दुई पक्षीय सम्बन्ध एक सय वर्षभन्दा पुरानो रहेको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध थप सुमधुर र घनिष्ठ बनाउन सभामुख नेतृत्वको प्रतिनिधि मण्डलकोे नेपाल भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेपालको संघीय शासन प्रणाली, संघीय संसद र संसदीय अभ्यासका बारेमा जानकारी गराउनुहुँदै सभामुख महराले नेपालमा नयाँ संविधान निर्माणपछि संसदले विभिन्न ऐन कानून निर्माणमा मुख्य जोड दिएको बताए । संघीय संसदले नेपाल–आयरल्याण्ड संसदीय मैत्री समूह गठन गरिसकेको जानकारी दिदै सभामुख महराले संसदीय मैत्री समूहमार्फत् दुई देशबीचको राजनीतिक सम्बन्ध प्रगाढ हुनुका साथै संसदीय परम्परा, अभ्यास र प्रक्रिया आदान प्रदानमा महत्वपूर्ण भूमिका रहने बताए ।

नेपालको पर्यटन प्रवद्र्धनका लागि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा घोषणा गरेको बताउदै सभामुख महराले नेपाल भ्रमणका लागि आयरल्याण्डका पर्यटकहरुका लागि नेपाललाई पनि एक गन्तव्यका रुपमा बनाउन पहल गरिदिन समकक्षी सेनसँग आग्रह गरे ।

भेटवार्ताका क्रममा आइरिस सभामुख सेन फेरेगलले नेपाल आउन पाउँदा निकै खुसी लागेको बताउदै नेपाल भ्रमणका लागि निम्तो गरेकोमा सभामुख महरालाई धन्यवाद भने । ५ दिने नेपाल भ्रमणमा रहेको आइरिस सभामुख नेतृत्वको प्रतिनिधि मण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई लगायतले भेट्ने कार्यक्रम छ ।

Featured