देश

पेट्रोलियम पाइपलाइन सुरक्षाको जिम्मा सेनालाई, उद्घाटन भोलि

बारा, भदौ २३–सरकारले अमलेखगञ्ज–मोतीहारी पेट्रोलियम पाइपलाइन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ । नेपाल तर्फको ३६ किलोमिटर पाइपलाइन सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय भएको रक्षासचिव रेश्मीराज पाण्डेले जानकारी दिए । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको प्रस्तावमा पेट्रोलियम पाइपलाइनको सुरक्षा जिम्मा नेपाली सेनालाई दिने निर्णय भएको छ ।

‘नेपाली सेना मार्फत पेट्रोलियम पाइपलाइनको सुरक्षा व्यवस्था मिलाइदिन आपुर्ति मन्त्रालयवाट हामी कहाँ प्रस्ताव आएकोले सोही आधारमा हामीले सुरक्षा जिम्मा सेनालाई दिएका हौ’ रक्षा सचिव पाण्डेले भने, ‘उहाँहरुले बारा र पर्सा हेर्नेगरी सेनाको २ ओटा गण उपलब्ध गराईदिन माग गर्नुभएको थियो हामीले सोही आधारमा निर्णय गरेका छौं ।’ भारत सरकारको प्राविधिक र आर्थिक सहयोगमा निर्माण सम्पन्न भएर गत ३ साउनमा सफल परीक्षण भइसकेको पाइपलाइन परियोजनाको सुरक्षाको लागि प्रति किलोमिटर १ जना सेना रहने गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पनि पेट्रोलियम पाइपलाइनको सुरक्षा नेपाली सेनालाई दिनेगरी सेनालाई खटाईसकेको जानकारी दिए । ‘केही दिनअघि निर्णय भएर पाइपलाइनको सुरक्षा हाम्रो जिम्मामा आइसक्यो’ नेपाली सेनाका प्रवक्ता पाण्डेले भने, ‘सेनाको टोली गस्तीमा खटिइसकेको छ ।

२३ फागुन २०७४ बाट शुरु भएको पाइपलाइन आयोजना निर्धा्रित समय भन्दा आठ महिना अघि सम्पन्न भएको हो । पाइपलाइनको भोलि (मंगलवार) नेपाल र भारतका प्रधानमन्त्रीले काठमाडौ र पटनावाट संयुक्त रुपमा बटम थिचेर उद्घाटन गर्दैछन् ।

पेट्रोलियम पाइपलाई पथलैया–वीरगञ्ज व्यापारिक मार्गको केन्ददेखि २५ मिटर पश्चिमतर्फको बाटो, बस्तीको जनघनत्व र बजारको अवस्था हेरेर ३ मिटर देखि ७ मिटर गहिराइमा बिछ्याइएको छ । अत्याधुनिक प्रविधि जडान गरेर पाइप बिछ्याइएको भएपनि सो क्षेत्रमा हुनसक्ने गैरकानुनी गतिविधि, पाइपमा प्वाल पारेर पेट्रोलियम पदार्थ चोरी गर्ने वा आगलागी हुनसक्ने भन्दै सरकारले त्यसको सुरक्षाको जिम्मा सेनालाई दिने निर्णय गरेको हो ।

नेपाल आयल निगम अम्लेखगञ्ज डिपोका प्रमुख प्रदिप यादवले पेट्रोलियम पाइपलाई छुनेगरी कुनै अवान्छित गतिविधि हुनासाथ त्यसको संकेत नेपाल र भारत दुवैतर्फ पुग्ने जानकारी दिए । ‘केही हुनासाथ हाम्रो सेन्सरले जानकारी दिइहाल्छ तैपनि रातिको समयमा पाइपमा प्वाल पारेर पेट्रोलियम पदार्थको चोरी, गैरकानुनी गतिविधि गर्ने व्यक्ति वा संस्थाद्धारा आगलागीका घटना हुनसक्ने भएकोले यसको सुरक्षा आवश्यक परेको हो’ यादवले भने ।

Featured