देश

उपत्यकामा हुने ट्राफिक जामको प्रमुख कारण निजी सवारीसाधन

काठमाडौं, भदौ २३–उपत्यकामा हुने ट्राफिक जामको प्रमुख कारण निजी सवारीसाधन रहेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ । ट्राफिक महाशाखा प्रमुखको रूपमा केही दिनअघि जिम्मेवारी सम्हालेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले उपत्यकाको ट्राफिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा उक्त तथ्यांक सार्वजनिक गरेका हुन् ।

उपत्यकामा २ हजार १४ किलोमिटर सडक छ । ती सडक खण्डमा चल्ने सवारीमध्ये ९४ प्रतिशत निजी सवारी चल्ने गरेको उनको भनाइ छ । एकातिर मापदण्डअनुसार पूर्वाधार अभाव रहेको र अर्को्तिर सवारीसाधन बढ्ने क्रम बढ्दो रहेका कारण ट्राफिक व्यवस्थापन कठिन भन्दै गएको उनले बताए ।

विगतमा ट्राफिक प्रहरीले गरेका सकारात्मक कार्यक्रमको निरन्तरता दिँदै सबै सम्बधित निकायहरूसँग ट्राफिक व्यवस्थापनका लागि समन्वयात्मक भूमिका खेल्ने एसएसपी ढकालको भनाइ छ । ट्राफिक प्रहरीको तथ्यांकअनुसार देशभर ३५ लाख ३९ हजार ९ सय १९ सवारीसाधन दर्ता छन् । तीमध्ये बागमती अञ्चलमा मात्रै ११ लाख ७२ हजार ४ सय १३ सवारीसाधन दर्ता भएका छन् ।

Featured