खेलकुद विदेश

एसेज सिरिजको चौथो टेस्टमा अष्ट्रेलियाको फराकिलो जित

काठमाडौं, एजेन्सी, भदौ २३-एसेज सिरिजको रोमान्चक चौथो टेस्टमा अष्ट्रेलियाले इङल्यान्डलाई एक सय ८५ रनले हराएको छ। यो जितसँगै पाँच खेलको एसेज सिरिजमा अष्ट्रेलियाले २–१ को अग्रता लिएको छ।

इङ्ल्यान्ड अन्तिम दिन ९१.३ ओभरमा एक सय ९७ रनमा अलआउट भयो। इङल्यान्डका लागि ओपनर जो डेनलीले ५३, जस बटलरले ३४ जेसन रोयले ३१ र जोनी बेयरस्टो २५ रन बनाए। अष्ट्रेलियाका प्याट कमिन्सले चार विकेट लिए। जोसन हेजलवुड र नाथन लायनले दुई दुई विकेट लिए। मिचेल स्टार्कले एक विकेट झारे।

स्टिम स्मिथले तीन सय १९ बलमा २४ चौका र दुई छक्का सहित दुई सय ११ रनको दोहोरो शतक प्रहार गरेपछि अष्ट्रेलियाले पहिलो इनिङ्समा आठ विकेटको क्षतिमा चार सय ९७ रन बनाउँदै इनिङ्स समाप्तीको घोषणा गरेको थियो। पहिलो इनिङ्समा इङ्ल्यान्ड तीन सय १ रनमा अलआउट भएपछि एक सय ९६ रनले पछि परेको थियो।

पहिलो इनिङमा इङल्यान्डका स्मिथले ८२ रन, रोय ब्रुन्सले ८१ र कप्तान जोय रुट ७१ रन जोड्नु बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेका थिएनन्। अष्ट्रेलियाका जोश हेजलवुडले चार विकेट लिएका थिए। मिचेल स्टार्क र प्याट कमिन्सले तीन तीन विकेट लिए।

अष्ट्रेलियाले एक सय ८६ रनमा ६ विकेटको क्षतिमा दोस्रो इनिङ्सको समाप्ती गर्दै इङ्ल्यान्डलाई तीन सय ८३ रनको लक्ष्य दिएको थियो। पहिलो खेल अष्ट्रेलियाले जितेको थियो। दोस्रो खेल ड्र भएको थियो। तेस्रो खेलमा इङ्ल्यान्डले जितेको थियो। अब अन्तिम तथा पाँचौ टेस्ट १२ सेप्टेम्बर देखि सुरु हुनेछ।

Featured