विदेश

परीक्षणमा नग्न तस्बिर रोक्ने प्रविधि

एजेन्सी, भदौ २३–सामाजिक सञ्जाल ट्विटरको व्यक्तिगत सन्देशमा पठाइएका नग्न तस्बिर चिनेर मेट्न सक्ने प्रविधि विकास गर्न थालिएको छ । अमेरिकाको सियाटलमा सफ्टवेयर विकासकर्ता केल्से ब्रेस्लरलाई एक पुरूषले नग्न तस्बिर पठाएपछि सो परियोजना सुरु गरिएको बताइएको छ । उनी अहिले एकजना साथीलाई आर्टि्फिसिअल इन्टलिजेन्स प्रयोग गरेर लिंगका तस्बिर पत्ता लगाउने र मेट्ने प्रविधि विकास गर्न सघाइरहेकी छन्।

उनी भन्छिन्, ‘जब तपाईँ नचाहेको नांगो तस्बिर पाउनुहुन्छ तब तपाईँलाई बेइज्जत गरिएको महसुस हुन्छ। यो कसैलाई बाटोमा गुप्ताङ्ग देखाएको जत्तिकै हो। तपाईँलाई जबरजस्ती देखाइएको कुरा कहिल्यै स्वीकार्य हुन सक्दैन।’ यो प्रविधि प्रयोग गर्न ब्रेस्लरको टोलीले एउटा इमेल बनाएर पुरुषहरूलाई विज्ञानलाई सहयोग गर्न नांगो तस्बिर पठाउन आह्वान गरेका थिए। धेरै तस्बिरहरु प्राप्त भएका कारण सो इमेल बन्द गर्नु परेको बताइएको छ।

ब्रेस्लर भन्छिन्, ‘यो सफ्टवेअर ठूलो सफलता हो र यसले धेरै नाङ्गो तस्बिरहरू पत्ता लगाएको छ ।हामीले यो प्रविधि केही दिनमा निर्माण गर्न सक्छौँ भने प्रविधि कम्पनीहरू यत्रो समय के गरेर बसेका छन्।’ ब्रेस्लरले आफ्नो टोलीले यो सफ्टवेअरको काम सकेपछि ट्विटरलाई समेत दिनसक्ने बताएकी छन्।

Featured