विदेश

धारा ३७० खारेज गरेपछि अन्य राज्य पनि सशंकित

एजेन्सी, भदौ २३–भारतले काश्मीरलाई विशेष राज्यको दर्जा दिने धारा ३७० खारेज गरेपछि अन्य राज्य पनि सशंकित बनेका छन् । यसै क्रममा गृहमन्त्री अमित शाहले आइतबार पूर्वोत्तरका राज्यलाई आश्वस्त पार्दै अनुच्छेद ३७० र ३७१ धेरै फरक भएको दाबी गरे । उनले केन्द्र सरकारले धारा ३७१ लाई कहिल्यै नछुने बाचा गरे । धारा ३७१ अनुसार भारतका पूर्वोत्तर राज्यले विशेष संवैधानिक अधिकार प्राप्त गरेका छन् ।

अमित शाह पूर्वोत्तर काउन्सिलका अध्यक्ष समेत हुन् । सो बैठकमा उनले पूर्वोत्तर राज्यलाई धारा ३७१ लाई नचलाउने आश्वासन दिएका हुन् । गुवाहाटीमा आयोजित सो बैठकमा पूर्वोत्तरका ८ राज्यका राज्यपाल र मुख्यमन्त्री सहभागी थिए । बैठकमा गृहमन्त्री शाहले भने, ‘जम्मू–काश्मीरमा धारा ३७० हटाउने कार्यको आलोचना भइरहेको छ । एक लोकतान्त्रिक देशमा यस्तो गर्नु सबैको अधिकार हो । तर यसबाट धारा ३७१ लाई पनि जोडिएको छ र पूर्वोत्तर राज्यका नागरिकलाई भ्रमित पारिएको छ । जनताहरुलाई धारा ३७० र ३७१ बीच धेरै अन्तर भएको थाहा हुनुपर्छ ।’

उनले भने, ‘धारा ३७० स्पष्ट रुपमा अस्थायी थियो र धारा ३७१ मा पूर्वोत्तरका राज्यका लागि बिशेष प्रावधानको व्यवस्था गरिएको छ । मैले संसदमा पनि यसबारे स्पष्ट भनेको छु । म मुख्यमन्त्रीको उपस्थितिमा फेरि एक पटक धारा ३७१ लाई नछुने कुरामा आश्वस्त पार्न चाहन्छु ।’ ५ अगस्टमा भारत सरकारले काश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा खोस्ने निर्णय गरेपछि अन्य यस्तै व्यवस्थासहित भारतमा मिसिएका राज्यहरुमा भारतले अधिकार खोस्ने त्रास उत्पन्न भएको छ ।

Featured