देश

चिनियाँ विदेशमन्त्रीले आज द्विपक्षीय वार्तासँगै प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटघाट गर्ने

काठमाडौं, भदौ २३–नेपालको तीन दिने औपचारिक भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले आज दिउँसोदेखि औपचारिक द्विपक्षीय वार्तासँगै प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। आइतबार नेपाल आएका विदेशमन्त्री वाङ चिनियाँ दूतावासले आयोजना गरेका आन्तरिक ब्रिफिङ र दिवा भोजपछि औपचारिक भेटवार्ताका कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिसँगको भेटअघि दुई देशका विदेशमन्त्रीस्तरीय वार्ता हुने जनाइएको छ। सोमबार साढे तीनबजेदेखि पौने पाँचसम्म नेपाल र चीनबीच दुईपक्षीय मन्त्रीस्तरीय वार्ता हुनेछ। नेपाली प्रतिनिधि मण्डल र चिनियाँ प्रतिनिधि मण्डलबीच होटल याक एण्ड यतीमा वार्ताको तयारी छ। त्यसलगत्तै दुई पक्षीय प्रतिनिधिमण्डल बीचमा सम्झौतामा हस्ताक्षर हुनेछ।

मन्त्रीस्तरीय बैठक सकिएलगत्तै चिनियाँ विदेशमन्त्री वाङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी याक एण्ड यतीबाट सिधै बालुवाटार जानेछन् । प्रधानमन्त्रीसँगको भेटका लागि एक घण्टाको समय छुट्याइएको छ। प्रधानमन्त्रीसँग उनले एक्लाएक्लै पनि भेट्ने कार्यक्रम रहेको बालुवाटार स्रोतले जनाएको छ।

प्रधानमन्त्रीसँगको भेट सकिएपछि उनी शितलनिवास पुग्नेछन। राष्ट्रपतिसँगको भेट ३० मिनेटको रहनेछ। नेपाली समकक्षी प्रदीप ज्ञवालीले चिनियाँ विदेशमन्त्रीको स्वागतमा रात्री भोजको आयोजना गरेका छन् । याक एण्ड यति होटलमा तय भएको रात्रीभोजमा वाङले एक घण्टा भन्दा बढी समय बिताउने कार्यतालिका उल्लेख छ । उनी त्यहाँबाट सिधै द्वारिकाज आएर आराम गर्नेछन् ।

चिनियाँ विदेशमन्त्री वाङले राजनीतिक भेटघाटको कार्यक्रम नक्सालस्थित मेरियट होटलमा गर्ने जनाइएको छ। उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार बिहान मेरियट होटलमा छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ। दुवै नेतालाई आधारआधा घण्टा भेट्ने बताइएको छ। उनीहरुलाई भेटेपछि वाङ द्वारिकाज होटल फर्कनेछन्। द्वारिकाजमा लन्च गरेर उनी स्वदेश फर्किने कार्यक्रम छ । अन्य पूर्वप्रधानमन्त्री र केही मधेसवादी दलका नेतासँग उनले परराष्ट्रमन्त्रीले दिएको रात्री भोजमा नै सामूहिक रुपमा भेट गर्ने जनाइएको छ।

Featured