देश

हंसपुरकी उपमेयर रेणु झासहित ३ जनाविरुद्ध जाहेरी दर्ता

जनकपुर, भदौ २२–धनुषाको हंसपुर नगरपालिकाका उपमेयर रेणु झासहित ३ जनाविरुद्ध आज जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गरिएको छ । उपमेयरसहित वडा नं. २ का वडा अध्यक्ष उदय साह र वडा नं. ४ का वडा अध्यक्ष किशोरी यादवपिवरुद्ध जाहेरी दर्ता गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।

हंसपुरबाट ट्रयाक्टर, मोटरसाइकललगायतका सवारीसाधनमा आएका मेयर रामज्ञान मण्डलका समर्थकहरूले उपमेयर रेणु झा मुर्दावाद, मेयरलगायत ४ जनामाथि लगाइएको झुटा मुद्दा खारेज गरलगायतका नारा लगाएका थिए । उनीहरू रेल्वे स्टेसनमा जम्मा भई भानुचोक, शिवचोक, रामचोक, मुरली चोक, कदम चोक, जिल्ला प्रशासन हुँदै जिल्ला प्रहरी कार्यालयसम्म नारा जुलुस प्रदर्शन गरे ।

गत साउन २२ गते हंसपुर नगरपालिकाको कार्यालय सार्ने विषयलाई लिएर भएको झडपमा वडा नं. २ बस्ने तपेश्वर मण्डल घाइते भएका थिए । उनको उपचारका क्रममा भदौ १८ गते साँझ जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको थियो ।

उनको मृत्युपश्चात् मृतकका छोराले मेयर रामज्ञान मण्डल, वडा नं. ३ का वडा अध्यक्ष उदय सिंह, कार्यपालिका सदस्य श्याम राउत र वडा नं. ४ का स्थानीय लालबाबु यादवमाथि मृतकका छोरा राजकुमार मण्डलले जिल्ला प्रशासन कार्यालयमा ज्यान मार्ने उद्योगमा यसअघि नै मुद्दा दर्ता गराइसकेका छन् । मृतक उपमेयर पक्षधर थिए ।

Featured