खेलकुद विदेश

युरोकप छनोटमा फ्रान्स र इङ्ल्यान्डको शानदार जित

काठमाडौं, एजेन्सी, भदौ २२-सन् २०१८ को विश्वकप विजेता फ्रान्स र इङ्ल्यान्डले युरोकप छनोटमा शानदार जित निकालेका छन्। शनिबार राति भएको समूह ‘एच’ को खेलमा फ्रान्सले अल्वानियालाई ४–१ गोलले हरायो। समूह ‘ए’ को खेलमा इङ्ल्यान्डले बुल्गेरियालाई ४–० गोलले पराजित गर्यो।

घरेलु मैदानमा फ्रान्सलाई जिताउने किङ्सले कोमानले दुई तथा ओलिभर जिरु र जोनाथन इकोनेले एक–एक गोल गरे। अल्वानियाका सोकोल सिकालेसीले सान्त्वना गोल फर्काएका थिए। फ्रान्सले आठौं मिनेटमा कोमानको गोलबाट अग्रता लिएको थियो। २७औँ मिनेटमा गिरोडले लुकास हर्नान्डेजको पासमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए।

३७औँ मिनेटमा एन्टोइन ग्रीजम्यान पेनाल्टीमा चुकेका थिए। त्यसपछि ६८औँ मिनेटमा किङ्सले कोमानले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता बलियो बनाए। ८५औँ मिनेटमा जोनाथनले नविल फेकिरको पासमा गोल गर्दै फ्रान्सलाई सहज जिततर्फ लगे। ९०औँ मिनेटमा अल्वानियाका सोकोल सिकालेसीले पेनाल्टीमा सान्त्वना गोल फर्काए।

जितसँगै समूह ‘एच’ को शीर्ष स्थानमा रहेका फ्रान्सले १२ अंक बनाएको छ। ६ अंक बनाएको अल्वानिया चौथो स्थानमा छ। यही समूहको अर्काे खेलमा टर्कीले एन्डोरालाई १–० गोलले हरायो। जितसँगै १२ अंक बनाएको टर्की गोल अन्तरमा दोस्रो स्थानमा छ। अंकविहिन एन्डोरा तालिकाको अन्तिमममा छ। अर्को खेलमा आईसल्यान्डले मोल्डोभालाई ३–० गोलले हरायो । जितसँगै १२ अंक बनाएको आईसल्यान्ड गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ। तीन अंक बनाएको मोल्डोभा चौथो स्थानमा छ।

यसैगरी समूह ‘ए’ को एकपक्षीय खेलमा इङ्ल्यान्डको जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गरे। एक गोल रहिम स्ट्रलिङले थपे। केनले २४औँ मिनेटमा खाता खोलेका थिए। त्यसपछि उनले ५०औँ र ७३औँ मिनेटमा पेनाल्टीमा दुई गोलगर्दै ह्याट्रिक पूरा गरेका थिए। स्ट्रलिङले ५५औँ मिनेटमा गोल गरेका थिए।

जितसँगै इङ्ल्यान्डले तीन खेलबाट ९ अंक बनाएको छ। अपराजित यात्रा कायम राखेको इङ्ल्यान्ड शीर्ष स्थानमा छ। दुई अंक बनाएको बुल्गेरिया तालिकाको अन्तिममा छ। यही समूहको अर्काे खेलमा कोसोभोले चेक रिपब्लिकलाई २–१ गोलले पराजित गरेको छ। जितसँगै आठ अंक बनाएको कोसोभो दोस्रो स्थानमा छ। ६ अंक बनाएको चेक रिपब्लिक तेस्रो स्थानमा छ।

Featured