देश

८६ हजार कर्मचारीमा कोही छैनन् ‘सुपरस्टार’?

काठमाडौं, भदौ २२–देशभर ८६ हजार बढी निजामती कर्मचारी छन्। तर, सरकारले तीमध्ये सर्वोत्कृष्ट काम गर्ने कर्मचारी भेट्न सकेको छैन। सरकारले निजामती सेवा दिवसको अवसरमा प्रत्येक वर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने कानुनी प्रावधान छ। तर, सो प्रावधानअनुसार सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा ४० जना मात्रै पुरस्कृत हुने भएका छन्।

स्रोतका अनुसार ४० जनालाई पुरस्कार प्रदान गर्न मुख्य सचिवको अध्यक्षतामा रहेको पुरस्कार सिफारिस समितिले सरकारलाई सिफारिस गरेको छ। समितिको सिफारिसबमोजिम सरकारले आइतबार पुरस्कृत कर्मचारीबारे अन्तिम निर्णय गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

सरकारले गत वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न सकेको थिएन्। कानुनअनुसार प्रत्येक वर्ष एक जनाले पाउनुपर्ने सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारको राशि २ लाख छ। सरकारले १ लाखको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जना र र ५० हजारको निजामती सेवा पुरस्कार पाउने ३० जनाको नामावली भने निजामती सेवा दिवसका दिन (आज) घोषणा गर्छ। सरकारले ८६ हजारबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसकेपछि कर्मचारीको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न उठेको छ। यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

Featured