देश

होटलमा हुने अवैध गतिविधिले सिंगो शहर बदनाम हुनेमा नागरिक समाजको चिन्ता

इटहरी, भदौ २१–इटहरीका होटलहरूमा हुने अवैध गतिविधिका कारण पछिल्लो समय सिंगो सहरको बदनाम हँुदै गएको सम्बन्धित सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

मानव बेचविखनविरूद्धको १३ औं राष्ट्रिय दिवसको अवसर पारेर समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय इटहरी र श्रमिक महिला साझा मञ्च नेपालले आयोजना गरेको व्यवसायीहरूसँग अन्तरक्रियामा अधिकांश सरोकारवालाहरूले मानब बेचविखन सबै क्षेत्रमा अन्त्य हुनुपर्ने बताएका हुन् ।

होटल ब्यवसाय संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले अहिले धेरै जसो होटलहरूमा सिसि क्यामरा जडान भएको र ब्यवस्थित बनिसकेका कारण अवैध गतिविधिहरू नियन्त्रण हुदै गएको दाबी गरे । उनले केही होटलमा हुने अवैध यौनधन्दाका कारण सहरको बदनाम भएको स्विकार्दै पहिचान गरिएका त्यस्ता होटलहरूमा प्रहरीले नियमित निगरानी बढाउनुपर्ने र सप्रमाण कारबाही गर्नुपर्ने बताए ।

कार्यक्रममा सहभागि अधिकांश होटल ब्यवसायीहरूले अनुसन्धान तथा छापा मार्ने क्रममा प्रहरीले अनावश्यक रूपमा दुख दिने गरेको आरोप लगाए । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक समिरचन्द्र खरेलले पछिल्लो समय मानव बेचबिखनको प्रमुख आधार होटलहरू भएका कारण होटल सञ्चालकहरूले ब्यवसाय गर्दा सावधानी अपनाउनुपर्नेमा जोड दिए ।

उनले इटहरी क्षेत्रका धेरै होटलहरूमा अझै पनि सेटिङको भरमा यौनधन्दा हुने गरेको बताए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेलले सुनसरीमा पछिल्लो समय मानव बेचबिखनको अवस्था सामान्य रहेको बताए । अघिल्लो बर्षहरूको तुलनामा यो आर्थिक वर्ष २०७६÷७७ मा उजुरी पनि न्यून रहेको उनले दाबी गरे ।

Featured