देश

महाकाली कटानको उच्च जोखिममा परशुराम धाम

डडेल्धुरा, भदौ २१–महाकाली नदीको किनारामा रहेको परशुराम धाम बर्से्नि आउने बाढीका कारण संकटमा पर्दै गएको छ । डेढ दशकअघि निर्माण गरिएको तटबन्ध भत्किन थालेपछि डडेल्धुराको परशुराम नगरपालिका–५ मा पर्ने परशुराम धाम संकटमा परेको हो ।

२०५६ मा परशुराम धाम क्षेत्रभन्दा दुई किलोमिटरमाथि परिगाउँ क्षेत्रबाट महाकालीको भंगालो गाउँ पसेपछि तटबन्ध निर्माण गरिएको थियो । तीन वर्षयता निरन्तरको कटानले प्रसिद्ध तीर्थस्थल उच्च जोखिममा छ । बेलैमा तटबन्ध पुनर्निर्माण नभए परशुराम धामसँगै परिगाउँ क्षेत्रमा समेत महाकाली पस्नसक्ने खतरा बढेको छ ।

परापूर्व कालमा विष्णुका अवतार मानिने परशुरामले तप गरेको क्षेत्रका रुपमा परिचित परशुराम धाम महाकाली नदी कटानको उच्च जोखिमा पर्दा पनि सरोकारवाला निकाय भने मुकदर्शक बनेका छन् । चार वर्षयता निरन्तरको कटानले प्रसिद्ध धार्मिक तीर्थस्थल संकटमा पर्दा पनि सम्बन्धित निकाय चुप लागेर बसेको परशुराम ५ परिगाउँका स्थानीय लालबहादुर कार्कीले बताए । ‘परशुरामलाई पवित्र तीर्थकारुवमा मानिएको छ । तर, अहिले यो तीर्थ जोखिममा छ,’ उनले भने, ‘परशुराम क्षेत्र महाकाली नदी कटानको उच्च जोखिमा रहेको अवस्था छ ।’

उनका अनुसार ५र६ वर्ष अगाडि यहाँ हालिएका तारजालीहरु नष्ट भइसकेको र ढुंगा खस्किसकेको उनले बताए । महाकाली नदीमा व्यवस्थितरुपमा तटबन्ध भए मात्रै परशुराम धामको संरक्षण हुने उनको बुझाइ छ ।

महाकालीले धामको माथिल्लो क्षेत्रबाट कटान सुरु गरिसकेको यहाँका स्थानीय बताउँछन् । डेढ दशकअघि महाकालीको भंगालो गाउँ फर्किएको क्षेत्रमा पनि तटबन्ध आधाभन्दा बढी बगाएको छ । जालीभित्र ढुंगा भरेर झारो टार्ने किसिमले बनाइएको तटबन्ध महाकालीले बगाउन थालेको छ ।

परशुराम धाममा करौडौका संरचनाहरु निर्माण भए पनि तटबन्द नहुँदा जोखिम उस्तै रहेको स्थानीय विरेन्द्रबहादुर सिंह बताउँछन् । परशुराम धामको संरक्षणका लागि प्रदेश सरकारले पनि विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘परशुरामधाम एकदमै खतरामा परिसकेको अवस्था छ । यहाँको मन्दिर पनि कुन दिन महाकालीले बगाउँछ,’ उनले भने, ‘यसको तुरुन्तै प्रदेश सरकारले व्यवस्थापन गरे हुन्थ्यो ।’

Featured