देश

दाइजोमा मोटरसाइकल नपाएको भन्दै श्रीमतीको हत्या

जनकपुर, भदौ २१–दाइजोमा मोटरसाइकल नदिएको निहुँमा रौतहटको राजपुर नगरपालिका–७ अकोलवामा एक महिलाको हत्या भएको छ । २५ वर्षीया सन्जु देवीको हत्या उनका पतिले गरेको आरोप लगाउँदै सन्जुका बुबा अविलास सहनीले प्रहरीमा किटानी जाहेरी दिएका छन् । किटानी जाहेरीमा ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै सन्जुलाई कुटपिट गर्ने गरेका थिए ।

केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले सन्जुमार्फत् आफूलाई पनि मोटरसाइकल चाहियो भनेर माग्ने गरेको अविलासले बताएका छन् । बिहीबार दिउँसो सन्जुको मृत्यु भएको खबर पाएपछि त्यहाँ गएर हेर्दा छोरीको घाँटीमा डाम देखिएकाले यो हत्या नै भएको उनको दाबी छ ।

जेठी छोरी सन्जुको बिहेमा केटा पक्षको माग बमोजिम सके जति दाइजो दिएको तर कान्छी छोरीको बिहेपछि भने जेठा ज्वाइँ रामबाबुले मोटरसाइकल माग गर्दै छोरीलाई मानसिक र शारीरिक यातना दिने गरेको उनले बताए । केही दिनअघि आफूले छोरीलाई भेट्न जाँदा सन्जुले श्रीमान र ससुराली पक्षले आफूलाई यातना दिने र दाइजो मागेर ल्याउन दबाब दिने गरेको कुरा आफूलाई जानकारी गराएको पिता सहनीको भनाइ छ । आफूले दुवैलाई सम्झाएको उनले बताएका छन । ज्वाइँले आफूसँग पनि राम्रो व्यवहार नगरेको अविलास सहनीले बताए ।

प्रहरीले घटनाको अनुसन्धानका लागि मृतकको श्रीमान रामबाबु सहनी र ससुरा मोहन सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताए । घटना शंकास्पद रहेकाले उनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको उनले बताए ।

Featured